हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा लागुऔषध तथा मदिरा दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ। सिविनको आयोजना, गाउँपालिकाको सहयोग तथा फोरटको सहकार्यमा आयोजित कार्यक्रममा गाउँपालिकाका आठवटै वडाका जनप्रतिनिधि, शिक्षक, प्रहरी, सहकारी तथा टोल विकास संस्थाका प्रतिनिधिसहित ११ विद्यालयका विद्यार्थी सहभागी थिए।
कार्यक्रममा सहभागीहरूले मकवानपुरगढी क्षेत्रमा लागुऔषध प्रयोगको समस्या जटिल बन्दै गएको भन्दै यसको नियन्त्रणका लागि प्रभावकारी पहल आवश्यक रहेको बताएका थिए। यस क्रममा गाउँपालिका उपाध्यक्षले “अलिअलि रक्सी खानु हुन्छ” भन्ने अभिव्यक्ति दिएपछि स्थानीय तथा सहभागीहरूले आपत्ति जनाएका थिए। बालबालिकाको उपस्थितिमा यस्तो धारणा व्यक्त गर्दा गलत सन्देश जाने भन्दै विरोध गरिएको थियो।
सिआन पुनर्स्थापना केन्द्रका सञ्चालक सौजन डिसीले लागुऔषध प्रयोगका कारण व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक असरबारे जानकारी गराउँदै समस्या समाधानका लागि नियमन र सचेतना दुवै आवश्यक रहेको बताए। “लागुऔषधमा पस्न सजिलो हुन्छ, तर त्यसबाट बाहिर निस्कन अत्यन्त कठिन हुन्छ,” उनले भने।
सिविन नेपाल मकवानपुरका प्रबन्धक झबिन्द्र ज्ञवालीले पछिल्लो समय बढ्दो दुव्र्यसनले समाज र विशेषगरी बालबालिकामा गम्भीर असर पारिरहेको बताए। उनका अनुसार मकवानपुरगढी क्षेत्रमा धेरै बालबालिका लागुऔषधको जोखिममा रहेका छन्। वैदेशिक रोजगारीका कारण अभिभावक टाढा रहेका बालबालिका झन् बढी जोखिममा पर्ने गरेको उनले उल्लेख गरे।
कार्यक्रममा बोल्दै शिक्षक विक्रम चौरेलले बालबालिकामा जीवनको महत्व र जिम्मेवारीबोध गराउने शिक्षा आवश्यक रहेको बताए। उनले मकवानपुरगढीमा बालविवाह र लागुऔषध दुवै चुनौतीपूर्ण समस्या बनेको उल्लेख गर्दै यस विषयमा स्थानीय तहले अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरे।
वक्ताहरूले बालविवाहका घटना सार्वजनिक गर्ने व्यक्तिले सामाजिक दबाब झेल्नुपर्ने अवस्था रहेकाले धेरै घटना बाहिर नआउने गरेको बताएका थिए। उनीहरूले लागुऔषध दुव्र्यसन र बालविवाहविरुद्ध विद्यालय, अभिभावक, स्थानीय सरकार तथा समुदायबीच समन्वित अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा चण्डिका, जालपा, शारदा, भानु, रानीसेरा, वंशगोपाल, मनकामना, जनक, जनता, रुपनारायण माध्यमिक विद्यालय तथा ज्वालादेवी आधारभूत विद्यालयका विद्यार्थी र शिक्षकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए।
गाउँपालिका अध्यक्ष मानकुमारी पाखिनको प्रमुख आतिथ्य तामा भएको कार्यक्रममा वडा नं. ४ का अध्यक्ष अर्जुन तिमल्सिना, वडा नं. ६ का अध्यक्ष कृष्ण बजगाईं, वडा नं. ७ का अध्यक्ष सूर्यबहादुर रुम्बा, सामाजिक विकास शाखा प्रमुख सूर्य गुरुङ, महिला तथा बालबालिका शाखा प्रमुख सावित्री तिमल्सिना तथा इलाका प्रहरी कार्यालयका प्रतिनिधिको उपस्थिति थियो।








