हेटौंडा । मानव अधिकारका लागि महिला एकल महिला समूहले एकल, विपन्न तथा सीमान्तकृत महिलाहरूको आर्थिक सशक्तीकरणका लागि बेसारको बीउ वितरण गरेको छ।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा उपमहानगरपालिकाको वडा नम्बर ९ र ११ का १५ जना महिलालाई बेसारको बीउ हस्तान्तरण गरिएको समूहकी अध्यक्ष शारदा चौलागाईंले जानकारी दिइन्।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष दाहालले महिलाहरूलाई आत्मनिर्भर बनाउन कृषि उत्पादनमा जोड दिन आवश्यक रहेको बताइन्। उनले बेसार खेतीले कम लगानीमा राम्रो आम्दानी दिन सक्ने भएकाले प्राप्त बीउको सदुपयोग गरी व्यावसायिक उत्पादनतर्फ अग्रसर हुन आग्रह गरिन्।
दाहालले स्थानीय सरकारले महिला, एकल महिला तथा सीमान्तकृत समुदायको आयआर्जन वृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै यस्ता कार्यक्रमले महिलाको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्।
समूहकी अध्यक्ष चौलागाईंले वितरण गरिएको बीउले लक्षित महिलाहरूलाई कृषि उत्पादनमार्फत आयआर्जनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन्।








