हेटौँडा । मकवानपुरको हेटौँडाका ११ वर्षीय प्रतिभाशाली गायक आर्मोन कार्की ‘द भ्वाइस किड्स सिजन–५’को ब्लाइन्ड अडिसन पार गर्दै नेक्स्ट राउण्डमा प्रवेश गरेका छन्।
ब्लाइन्ड अडिसनमा उनले स्वरसम्राट नारायण गोपालले लोकप्रिय बनाएको देशभक्तिपूर्ण गीत ‘वीरताको चिनो, वीरको सन्तान’ प्रस्तुत गरेका थिए। उनको सशक्त गायनले दर्शकसँगै कोचहरूलाई समेत प्रभावित बनायो।
कार्यक्रममा सहभागी सबै कोचहरूले उनको स्वर, आत्मविश्वास र प्रस्तुतीकरणको खुलेर प्रशंसा गरेका थिए।
हाल कक्षा ६ मा अध्ययनरत आर्मोन सानैदेखि संगीतमा सक्रिय छन्। नर्सरी कक्षादेखि नै विद्यालयका सांस्कृतिक कार्यक्रममा गीत प्रस्तुत गर्न थालेका उनले विद्यालय, जिल्ला तथा प्रदेशस्तरीय विभिन्न गायन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै अनेकौँ पुरस्कार जितिसकेका छन्।
गायनसँगै उनी गिटार, हार्मोनियम र पियानो बजाउन पनि दक्ष छन्। चित्रकलामा समेत रुचि राख्ने आर्मोन नेपाली तथा भारतीय चर्चित गायक–गायिकाहरूका चित्र कोर्ने गर्छन्। उनले आफ्ना बुवालाई संगीत यात्राको मुख्य प्रेरणास्रोत मान्दै नारायण गोपाल र भक्तराज आचार्यलाई आदर्शका रूपमा लिएका छन्।
यस संस्करणमा उनकी बहिनी आध्या कार्कीले पनि सहभागिता जनाएकी थिइन्। उनले ‘यति धेरै माया दिई’ गीत प्रस्तुत गरे पनि अर्को चरणमा छनोट हुन सकिनन्। यद्यपि, उनको स्वर र प्रस्तुतिको कोचहरूले प्रशंसा गरेका थिए।
आर्मोनका बुबा शिक्षक र आमा नर्स हुन्। परिवारले छोराछोरीमाथि कुनै पेशागत दबाब नदिई उनीहरूको रुचिअनुसार संगीत क्षेत्रमा अघि बढ्न निरन्तर हौसला दिँदै आएको छ।
‘द भ्वाइस किड्स सिजन–५’को उपाधि जित्ने लक्ष्य बोकेका आर्मोन आगामी चरणमा अझ उत्कृष्ट प्रस्तुति दिने तयारीमा छन्।








