हेटौँडा । लागूऔषध दुर्व्यसन न्यूनीकरण तथा पुनर्स्थापना सेवामा सुरक्षा निकाय, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले सिआन पुनर्स्थापना केन्द्रले समीक्षा तथा सुझाव संकलन बैठक आयोजना गर्दै आफ्नो वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ।
सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित कार्यक्रममा केन्द्रले आर्थिक वर्ष २०८२/०८३ (२०२५/२०२६) को वार्षिक प्रगति, सिआन क्षति न्यूनीकरण परियोजनाको उपलब्धि, सेवा विस्तार तथा आगामी योजनाबारे जानकारी गराएको हो। कार्यक्रममा सरोकारवाला निकायबाट सुझावसमेत संकलन गरिएको थियो।
केन्द्रका प्रमुख सञ्चालन अधिकृत मनिशमान श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनअनुसार एक वर्षमा २५१ जना (१६९ पुरुष र ८२ महिला) सेवाग्राहीले उपचार तथा पुनर्स्थापना सेवा प्राप्त गरेका छन्। तीमध्ये १६८ जना सफलतापूर्वक उपचार सम्पन्न गरी समाजमा पुनःस्थापित भएका छन् भने ७९ जना हाल उपचाररत छन्। यस अवधिमा आर्थिक अवस्था कमजोर भएका १० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
प्रतिवेदनअनुसार केन्द्रले वर्षभरि १,१८५ व्यक्तिगत परामर्श, ८५० पारिवारिक परामर्श, ३६५ योग तथा ध्यान कक्षा, ११२ प्रेरणादायी सत्र, ८५ अतिथि व्याख्यान तथा विभिन्न सीपमूलक तालिम सञ्चालन गरेको छ। साथै महिला र पुरुषका लागि छुट्टाछुट्टै पुनर्स्थापना सेवा, मनोसामाजिक परामर्श, पुनःलत रोकथाम, व्यावसायिक सीप विकास तथा सामाजिक पुनःएकीकरणका कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।
सिआन क्षति न्यूनीकरण परियोजनामार्फत एचआईभी तथा लागूऔषध रोकथाम, सुरक्षित सुई र कन्डम वितरण, स्वास्थ्य परीक्षण, व्यवहार परिवर्तन कार्यक्रम तथा समुदायस्तरीय जनचेतनामूलक गतिविधि प्रभावकारी रूपमा सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ।
श्रेष्ठका अनुसार उत्कृष्ट कार्यसम्पादनका आधारमा गृह मन्त्रालयले अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको दिवसका अवसरमा सिआन पुनर्स्थापना केन्द्रलाई सम्मानसहित एक लाख रुपैयाँ अनुदान प्रदान गरेको थियो। यसै अवधिमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सेवा सम्झौता (एमओयू) सम्पन्न गरिएको, जिल्ला स्तरीय तीनमहिने लागूऔषधविरुद्धको अभियान सञ्चालन गरिएको तथा मकवानपुर र चितवनका विद्यालयहरूमा व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको पनि प्रतिवेदनमा उल्लेख छ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सिआनले पारदर्शी र प्रभावकारी ढंगले काम गरेको भन्दै यसलाई अन्य सामाजिक संस्थाका लागि पनि उदाहरणीय संस्थाका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उउहाँले स्थानीय तहसँग अझ सशक्त समन्वय गर्दै मानवअधिकारमैत्री सेवा प्रवाह गर्न सुझाव दिनुभयो ।
बैठकमा सहभागी विभिन्न सरोकारवालाले लागूऔषध दुर्व्यसन न्यूनीकरण तथा पुनर्स्थापनाको क्षेत्रमा सिआनले पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवप्रसाद काफ्ले, जनस्वास्थ्य कार्यालय मकवानपुरका अधिकृत लक्ष्मण घिमिरे, हेटौँडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोलानाथ चौलागाईं, सिआन पुरुष पुनर्स्थापना केन्द्रका सञ्चालक सौजन डीसी, सिआन महिला पुनर्स्थापना केन्द्रकी सञ्चालक तान्या अग्रवाल, केन्द्रका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थिति थियो।
प्रतिवेदनमा आगामी आर्थिक वर्ष २०८३/०८४ मा मानसिक स्वास्थ्य सेवा विस्तार, महिला–पुरुष विशिष्टीकृत सेवा सुदृढीकरण, व्यावसायिक सीप विकास, स्थानीय सरकारसँग साझेदारी, सामाजिक पुनःएकीकरण तथा समुदाय केन्द्रित लागूऔषधविरुद्धका अभियानलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिइएको उल्लेख गरिएको छ।







