एउटै मन्त्रालय, दुई कार्यालय;मन्त्री उर्मिलाको दोहोरो पदबहाली

हेटौंडा । बागमती प्रदेश सरकारको नयाँ मन्त्रालय संरचना कार्यान्वयनसँगै अनौठो प्रशासनिक अवस्था देखिएको छ। नवनियुक्त कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री उर्मिला नेपालले एउटै मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा दुई फरक स्थानमा पुगेर पदबहाली गर्नुभएको छ।
प्रदेश सरकारले साउन १ गतेदेखि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयलाई गाभेर एउटै मन्त्रालय बनाएको भए पनि संगठन तथा व्यवस्थापन (ओएन्डएम) प्रक्रिया पूरा नभएकाले दुवै मन्त्रालयका कार्यालय अझै छुट्टाछुट्टै स्थानबाट सञ्चालन भइरहेका छन्।
शुक्रबार बिहान मन्त्री नेपालले हेटौँडा–२ स्थित वन कम्प्लेक्समा पदभार ग्रहण गर्नुभयो भने त्यसपछि हेटौँडा–१ चौकीटोलस्थित साविकको कृषि मन्त्रालय पुगेर त्यहाँ पनि औपचारिक रूपमा पदबहाली गर्नुभयो।
मन्त्रालय एउटै भए पनि प्रशासनिक संरचना अझै पूर्ण रूपमा एकीकृत हुन नसक्दा हाल दुई सचिव कार्यरत छन् भने कर्मचारी व्यवस्थापन र कार्यविभाजन पनि संक्रमणकालीन अवस्थामै रहेको छ।
प्रदेश सरकारले वैशाख २२ गते मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा झार्ने निर्णय गरेको थियो, जुन साउन १ गतेदेखि कार्यान्वयनमा आएको हो। तर नयाँ संरचनाअनुसारको प्रशासनिक पुनर्संरचना पूरा नभएकाले व्यवहारिक चुनौती देखिएको छ।
एमाले सरकारबाट बाहिरिएपछि रिक्त बनेको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बिहीबार उर्मिला नेपाललाई दिनुभएको हो। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ र संवैधानिक व्यवस्थाअनुसार सरकारले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.