मन्त्रीहरुसँग मुख्यमन्त्री थापाले गरे कार्यसम्पादन करार

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले चालु आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन पाँच जना मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ।

प्रदेश सुशासन ऐन तथा नियमावलीमा भएको व्यवस्थाअनुसार मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा सम्झौता भएको हो।

मुख्यमन्त्री थापाले आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ, भौतिक पूर्वाधार विकास मन्त्री भरतबहादुर केसी, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री राजु विष्ट र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतीसँग सम्झौता गर्नुभएको हो।

सम्झौतापछि मुख्यमन्त्री थापाले सरकार परिवर्तन र भदौ १० गतेको भोटेकोशी बाढीका कारण प्रक्रिया केही ढिला भए पनि विकास निर्माण र सेवा प्रवाहका काममा थप ढिलाइ गर्न नहुने बताउनुभयो। बाँकी समय प्रभावकारी रूपमा उपयोग गर्दै बजेट तथा कार्यक्रम कार्यान्वयनमा तीव्रता दिन उहाँले मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनुभयो।

चालु आर्थिक वर्षको दुई महिना बितिसकेको उल्लेख गर्दै उहाँले अब करिब दुई सय दिनको कार्यसमय मात्र बाँकी रहेको बताउनुभयो। मन्त्रालयहरूले स्पष्ट कार्यतालिका बनाएर काम अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री रमा आले मगर र बिना विभागीय मन्त्री ज्ञानबहादुर तामाङसँग भने पछि कार्यसम्पादन करार गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

कार्यसम्पादन करारमा सम्बन्धित मन्त्रीले चालु आर्थिक वर्षमा गर्नुपर्ने प्रमुख काम, जिम्मेवारी, कार्ययोजना, समयसीमा र अपेक्षित नतिजाका सूचकहरू समेटिएका छन्।

यसैबीच मुख्यमन्त्री थापा र प्रदेश सरकारका प्रमुख सचिव कमलप्रसाद भट्टराईबीच पनि कार्यसम्पादन करार भएको छ। प्रमुख सचिव भट्टराईले प्रदेश सचिव उमेशकुमार ढकाल र रामबाबु पुरीसँग समेत सम्झौता गर्नुभएको छ।

अब मन्त्रीहरूले आफ्ना मन्त्रालयका सचिव तथा सचिवहरूले महाशाखा, विभाग, निर्देशनालय र कार्यालय प्रमुखसँग कार्यसम्पादन करार गर्ने व्यवस्था गरिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.