हेटौँडा । बागमती प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्षसहित सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त उपाध्यक्ष देवराज रोका तथा सदस्यहरू दीपक विक्रम थापा र सुरेन्द्रवर सिंह थापाले शपथ लिएका हुन्। उनीहरूलाई मुख्यमन्त्री किरण थापा मगरले शपथ गराउनुभयो।
प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले रोकालाई उपाध्यक्ष तथा सुनिता गौतम, दीपक विक्रम थापा र सुरेन्द्रवर सिंह थापालाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो। सदस्य गौतमको शपथ भने पछि हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
शपथपछि मुख्यमन्त्री थापा मगरले नीति तथा योजना आयोगलाई भोटेकोशी बाढी प्रभावित क्षेत्रमा परिचालन गर्ने बताउनुभयो। बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनःस्थापनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले आवश्यक योजना निर्माण र सुझाव दिन आयोगलाई आग्रह गर्नुभयो।
प्रदेश सरकारका आगामी नीति, कार्यक्रम तथा बजेटलाई प्रभावकारी बनाउन आयोगबाट आवश्यक सल्लाह, सुझाव र योजनागत सहयोग अपेक्षा गरिएको मुख्यमन्त्रीको भनाइ छ। बजेट निर्माण तथा कार्यान्वयनका क्रममा सुधार गर्नुपर्ने क्षेत्र, प्राथमिकतामा राख्नुपर्ने कार्यक्रम र उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोगबारे आयोगले सरकारलाई सुझाव दिनुपर्ने उहाँले बताउनुभयो।
रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारलगायतका क्षेत्रमा आयोगका पदाधिकारीको विज्ञता र अनुभव उपयोग गर्दै प्रदेशलाई समृद्ध बनाउने लक्ष्य रहेको मुख्यमन्त्री थापा मगरले उल्लेख गर्नुभयो।
नवनियुक्त उपाध्यक्ष रोका र सदस्य दीपक विक्रम थापा नेकपा एमाले, सदस्य सुरेन्द्रवर सिंह थापा राप्रपा तथा सदस्य सुनिता गौतम नेकपाको सिफारिसमा नियुक्त भएका हुन्।
प्रदेश नीति तथा योजना आयोगमा मुख्यमन्त्री अध्यक्ष रहने व्यवस्था छ। आयोगमा अध्यक्ष र उपाध्यक्षसहित चार सदस्य गरी पाँच सदस्यीय संरचना रहने व्यवस्था रहेको छ।







