हेटौँडा । बागमती प्रदेश सरकारले ल्याएको अपाङ्गता भएका व्यक्तिहरूको प्रादेशिक नीति, २०८३ को प्रभावकारी कार्यान्वयन गर्न सरोकारवालाहरूले जोड दिएका छन्। नीतिमा समेटिएका व्यवस्था व्यवहारमा लागू गर्न आवश्यक बजेट, संस्थागत समन्वय र प्रभावकारी अनुगमन हुनुपर्ने उनीहरूको भनाइ छ।
नेत्रहीन युवा संघ नेपालको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको सहआयोजनामा सोमबार हेटौँडामा आयोजित “अपाङ्गता भएका व्यक्तिहरूको अवस्था, समस्या, चुनौती र आगामी बाटो” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले नीति निर्माणसँगै कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।
सामाजिक विकास मन्त्रालयले जारी गरेको प्रादेशिक नीति, २०८३ को कार्यान्वयन अवस्था, विद्यमान समस्या, चुनौती र आगामी कार्यदिशाबारे छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका पशुपन्छी तथा वनमन्त्री रमा आले मगरले नीतिलाई थप प्रभावकारी बनाउन सरोकारवालाबाट सुझाव र सहकार्य आवश्यक रहेको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरूमा पनि विविध क्षमता र दक्षता रहेको उल्लेख गर्दै उनीहरूको क्षमता पहिचान गरी अवसर र पहुँच सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ थियो। अपाङ्गता भएका बालबालिका तथा सीमान्तकृत समुदायका व्यक्तिहरूले सरकारी कार्यालयबाट सेवा लिँदा सहजता होस् भन्ने उद्देश्यले छुट्टै व्यवस्थासमेत गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत रामचन्द्र गिरीले प्रादेशिक नीति, २०८३ प्रस्तुत गर्दै नीतिको आवश्यकता, प्रमुख समस्या तथा चुनौती, रणनीति, कार्यनीति, अनुगमन तथा मूल्यांकन र पुनरावलोकनका विषयमा जानकारी गराउनुभएको थियो ।
नेत्रहीन युवा संघ नेपालका प्रमुख सल्लाहकार कलाधर भण्डारीले प्रादेशिक नीतिको कार्यान्वयन अवस्था, देखिएका समस्या तथा चुनौती र आगामी कार्यदिशाबारे प्रस्तुत गर्नुभएको थियो। उहाँले नीतिमा समेटिएका व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायको प्रतिबद्धता र व्यवहारिक पहल आवश्यक रहेको विषय उठाउनुभएको थियो।
त्यस्तै, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष उपेन्द्र श्रेष्ठले प्रदेशस्तरीय नीति, योजना निर्माण तथा कार्यान्वयनमा सामाजिक संघसंस्थाको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।उहाँले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सेवा तथा अवसरमा समान पहुँच स्थापित गर्न प्रदेश सरकार, स्थानीय तह र सामाजिक संघसंस्थाबीच समन्वय आवश्यक रहेको धारणा राख्नुभएको थियो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष उपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नागरिक समाज तथा गैरसरकारी संस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो।

प्रतिकृया दिनुहोस्







