हेटौंडा–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगको परिसरभित्र चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, पक्राउ पर्नेमा सर्लाही बसबढिया गाउँपालिका–३ का २५ वर्षीय सुनिल कुमार यादव, रौतहट गरुडा नगरपालिका–५ का २५ वर्षीय पवन यादव र २१ वर्षीय रितेश कुमार यादव रहेका छन्।प्रहरीका अनुसार फागुन ३ गते राति उद्योग परिसरमा अपरिचित व्यक्तिहरू प्रवेश गरी मेकानिकल वर्कशप भित्रको क्रसरको सापटको बुस (पितलको) लगायतका सामाग्रीहरू चोरी भएको उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो।अनुसन्धानका क्रममा प्रहरी टोलीले साउन ५ र ६ गते हेटौंडा–१५ स्थित सडकबाट ती तीनजनालाई चोरीका सामाग्रीसहित नियन्त्रणमा लिएको हो।
हाल उनीहरूविरुद्ध मकवानपुर जिल्ला अदालतबाट अनुमति लिई चोरीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।










