कथा
अनलाइन भूत

कम्प्युटर कसैले खोलेको छैन, आज कोठाभरि ल्यापटपको आवाज पनि सुनिँदैन, मोबाइलमा गेम खेल्ने आवाज पनि छैन। गीता कोठामै छे, तर वातावरण असामान्य रूपमा सुनसान छ। गीताकी आमा सरस्वतीको कान न्यानो भएको जस्तो त पक्कै लागेको छ, तर सधैं मोबाइल र ल्यापटपमा झुन्डिने छोरीको पछिल्ला केही दिनका व्यवहारले उनलाई अचम्मित बनाएको छ।

सरस्वतीले गीताको बाबालाई केही भनेकी छैनन्। छोरीले मोबाइल चलाउन कम गरेकी देखेर खुशी पनि लाग्छ, तर गीताको टोलाउने र अनौठो बानी देख्दा उनको मन खल्लो पनि हुन्छ।

“मैले रातदिन मोबाइल चलाउँछेस् भनेर रिसले केही बढी बोलेँ कि?”  सरस्वती आफैंसँग मनमनै फतफताउँछिन्।

गीता आठ कक्षामा पढ्छे। स्कुलबाट फर्केपछि सिधै मोबाइल र ल्यापटपमै टास्सिन्थी। सुरुमा बाहिर घुम्न नजान्ने र गलत साथीसँग नपर्ने छोरी भएकोमा सरस्वती र उनका श्रीमान् दुवै सन्तुष्ट थिए। तर कोठाभित्र अत्यधिक मोबाइल र ल्यापटप प्रयोगको बानीले उनीहरूलाई चिन्तित बनाएको थियो।

गीताको पढाइ राम्रै थियो, तर गृहकार्य सकिने बित्तिकै वा प्रोजेक्ट वर्कको बहानामा, कहिले नोट पठाउने नाममा ऊ अनलाइनमै हराउँथी। फेसबुक, ह्वाट्स्एप, युट्युब, टिकटक जस्ता एप्स र साइटहरूले गीतालाई लोभ्याउँथे। नयाँ भिडियो, सिरिज, प्र्यांक भिडियो, ग्रुप च्याटहरूमा गीता रमाउँथी। राम्रा युट्युबरहरूका भिडियो हेरेपछि त्यस्तै बन्न मन पर्थ्यो, फेसबुकमा देखिएका ग्ल्यामरस तस्बिरहरू हेरेर त्यस्तै फोटो खिचाउन चाहन्थी।

“गीता, ए छोरी! यस्सो बाहिर निस्क, घाम हेर, रुखपात हेर! संसार मोबाइल र ल्यापटपभन्दा बाहिर पनि छ नि,” आमाले भन्थिन्।

तर गीता केही दिनदेखि मौन थिई। पहिले झट्ट जवाफ दिने केटी अहिले एक शब्द बोल्दैनथी, कोठाभित्र ढोका थुनेर बसिरहन्थी। सरस्वतीले यसलाई सामान्य किशोरावस्थाको स्वभाव ठानिन्, तर अब स्थिति सामान्य थिएन।

गीता पढ्न जान मान्दैनथी। कोठा अस्तव्यस्त, न खानामा रुचि, न कुराकानीमा। सरस्वतीलाई लाग्यो, मोबाइलले छोरीलाई बिगार्यो, तर पढाइका लागि चाहिन्छ भनेर उनले मोबाइल फिर्ता गर्न पनि सकिनन्।

पटक–पटक बोलाउँदा पनि गीता मौन बस्न थालेपछि सरस्वती कोठामा पस्यिन्। गीता सिरकमा गुटुमुटु परेर सुतेकी थिई, पसिनामा भिजेकी। आमाले निधार छामिन्, शरीर पोलिरहेको थियो। सिटामोल खुवाइन्, पानी पट्टी गरिन्। गीताका बाबु अफिसबाट आए र अस्पताल लगे।

ज्वरो भोलिपल्टै ठिक भयो, तर गीताको मनस्थिति ठिक भएन। ऊ न बोल्थी, न खान्थी, न पढ्थी। मोबाइल, ल्यापटप समेत हेर्न छाडेकी थिई। आमाले बोलाउँदा झस्किन्थी। बाबुआमा गहिरो चिन्तामा परे।

“तिमीलाई के थाहा छ, छोरी यस्तो किन हुँदै गइ?” बाबुले सोधे।
“खै, मलाई पनि थाहा छैन,”  सरस्वतीको स्वर डरले भरिएको थियो।

त्यो रात सरस्वतीले गीतासँगै सुत्ने निर्णय गरिन्। सुत्दा छोरी आमाको अँगालोमा च्याप्प टाँस्सिई। सरस्वतीले नजानिँदो डर महसुस गरिरहेकी थिइन्। गीताले सुत्दा कहिले बर्बराउँथी, कहिले झस्किन्थी। दुबैजनाले रातभर निगरानी गरे।

पछिल्लो दिन धामी बोलाइयो। ढ्याङ्ग्रो ठटाइयो, मन्त्र पढियो। “मोबाइल धेरै चलाउँछे,” धामीले भने। “यत्तिकैले बिगारेको होइन, कसैले अनलाइनबाट असर पारेको हो।”

धामीले भने अनुसार कालो हाँस काटियो, फुकाइयो। तर गीताको हालत झन बिग्रियो। गाउँभरि हल्ला चल्यो , गीतालाई ‘भूत’ लागेको रहेछ।

गीताले बोल्न छाडेकी थिई, स्कुल नगएको एक हप्ता भइसकेको थियो। मोबाइल ,ल्यापटपको भूतले गीतालाई मात्रै होइन, उनका अभिभावकलाई पनि सताइरहेको थियो।

गीता सधैं मोबाइलमै हुन्थी, गेम खेल्थी, अनलाइनमा च्याट गर्थी। फेसबुक, युट्युबका भिडियोहरू हेरिरहन्थी। पढाइ राम्रै भएकी कारण अभिभावकले छुट दिँदै आएका थिए। उसलाई धेरै मोबाइल चलाउँदा हुने हानिबारे जानकारी थिएन।

केही समयअघि, साँझमा बाटोमा डराएर बिरामी परेकी थिई। त्यसपछि आमाले उसलाई साँझ बाहिर नजान भनिन्। त्यसयता गीताको साथी बनेको थियो , मोबाइल र ल्यापटप।

“बाहिर गए भूत आउँछ, म जान्न,” ऊ भन्थी।

अब हालत खराब भयो। गीताको बाबुआमाले अस्पताल लगे। त्यहाँ मनोसमाजिक परामर्श कक्षमा डा. अमृता भेटिन्।

डा. अमृताले गीतासँग सौम्य स्वरमा कुरा गरिन्। सुरुमा गीता मौन रहिन्, तर पछि बिस्तारै खुल्दै गइन्। डाक्टरले मोबाइल गेम खेल्दै कुराकानी अघि बढाइन्, र अनलाइनको फाइदा–बेफाइदा बताइन्।

गीता अलिक सहज भई। डाक्टरले सोधिन्, “के तिमी पनि राति–राति कसैसँग कुरा गर्छ्यौ?” गीताले मौन स्वीकृति जनाइन्।

“त्यो मान्छेले मलाई नराम्रो फोटो पठाउन लगाउँछ,” गीताले बिस्तारै भनिन्। “मलाई पनि त्यस्तै गर्न लगायो।”

डा. अमृताले निस्कर्ष निकालिन् , गीताको मनोवैज्ञानिक समस्या होइन, अनलाइन दुव्र्यवहार थियो।

गीताको फेसबुकमा ‘आर्यन शर्मा’ नामको केटासँगको सम्पर्क सुरु भएको रहेछ। गीताले आफ्नो उमेर १८ वर्ष लेखेकी थिई। केही दिनको च्याटपछि त्यो केटाले प्रेमको प्रस्ताव राख्यो, अनि अश्लील फोटो पठाउन दवाव दिन थाल्यो। गीता डरले मानिन्। जब अस्वीकार गरिन्, उसले धम्की दियो , “तिम्रा फोटो सबैलाई पठाइदिन्छु।”

त्यो डरले गीतालाई दिनरात सतायो। ऊ तर्सिन थाली, सुत्दा बर्बराउन थाली। “मलाई बोलायो, न गए म बर्वाद हुन्छु,” ऊ आमालाई भन्थी।

डा. अमृताले गीतालाई बिस्तारै विश्वास दिलाइन्। गीताले सबै कुरा बताइन् , आर्यन वास्तवमा विदेशमा बस्ने होइन, आफ्नै गाउँको केटा रहेछ। उसले धम्की दिएको थियो।

डा. अमृताले प्रहरीलाई जानकारी दिइन्। प्रहरीको सहयोगमा त्यो युवक पक्राउ पर्‍यो।

गीतालाई सताउने ‘भूत’ वास्तवमा अनलाइनबाट आएको अपराध थियो।
अब गीता पुनः आफ्नो पढाइमा केन्द्रित छे, सुरक्षित अनलाइन व्यवहार सिकेकी छे, र ‘अनलाइन भूत’ जेलमा छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.