हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुबास चन्द्र बोहोरा र केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख हेमन्त चौधरीले हेटौंडा उपमहानगरपालिका–९ स्थित सिआन पुनर्स्थापना केन्द्र र सिआन लाइफकेयर सेन्टर मकवानपुरको पहिलो महिला सुधार गृहको संयुक्त अवलोकन, अन्तरक्रिया तथा अनुगमन भ्रमण गतेका छन् ।
कार्यक्रमको सञ्चालन केन्द्रका कर्मचारी मनिश मान श्रेष्ठले गर्नुभएको थियो। उहाँले सिआन पुनर्स्थापना केन्द्रको स्थापना कालदेखि हालसम्मका गतिविधि, उपलब्धि, वैज्ञानिक पुनर्स्थापना अभ्यास र दीर्घकालीन लक्ष्यबारे विस्तृत विवरण प्रस्तुत गरे।
अन्तरक्रिया सत्रमा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले सिआन पुनर्स्थापना केन्द्रले मकवानपुरमा लागुऔषध दुरुपयोग नियन्त्रण र उपचार पुनर्स्थापनामा पुर्याएको योगदानको प्रशंसा गर्दै भने,“सिआन पुनर्स्थापना केन्द्रले व्यवस्थित ढङ्गले सेवा सञ्चालन गर्दै जिल्लामा उदाहरणीय भूमिका निर्वाह गरेको छ। राज्यका निकाय र पुनर्स्थापना संस्थाबीचको सहकार्य अझ सुदृढ बन्नुपर्छ।”
त्यसैगरी जिल्ला प्रहरी प्रमुख एसपी सुबास चन्द्र बोहोराले प्रहरी प्रशासन र पुनर्स्थापना संस्थाबीचको सहकार्यलाई अझ सशक्त बनाउन प्रतिबद्धता व्यक्त गर्दै भने,“लागुऔषध समस्या समाधानका लागि प्रहरी प्रशासन र पुनर्स्थापना केन्द्रबीच सहकार्य अनिवार्य छ। आगामी दिनहरूमा अझ सशक्त सहकार्य गर्दै अघि बढ्नेछौँ।”
कार्यक्रममा सिआन पुनर्स्थापना केन्द्रका कार्यकारी निर्देशक शौजन क्षेत्री डीसीले केन्द्रले सेवा सञ्चालनका क्रममा भोगिरहेका चुनौतीहरूबारे सरोकारवालाको ध्यानाकर्षण गराउँदै भने,“सहयोग र सहकार्यकै माध्यमबाट पुनर्स्थापना क्षेत्र अझ सुदृढ र प्रभावकारी बन्न सक्छ। हामी सधैंँ सरकारी निकायसँग हातेमालो गर्दै अघि बढ्नेछौँ।”
कार्यक्रममा जिल्ला प्रशासन, प्रहरी, स्थानीय निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।










