हेटौंडा । बागमती प्रदेशको प्रदेश सुशासन केन्द्र र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी) को निर्देशक समितिको बैठक बुधबार सम्पन्न भएको छ ।
बागमती प्रदेशका मूख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा दुबै बैठक सम्पन्न भएको हो । बैठकमा सुशासन केन्द्रको आव ०८१/०८२ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार तयार भएको पाँचौ बार्षिक प्रतिवेदन बैठकमा पेश भई बित्तीय तथा भौतिक प्रगतिको समिक्षा गरेको छ । बैठकले केन्द्रको कार्यक्रम संचालन गर्दा गुणस्तरमा सुधार गर्दै प्रभावकारी रुपले संचालन गर्न निर्देशन दिने निर्णय गरेको छ । त्यस्तै आव ०८२/०८३ को स्वीकृत बार्षिक कार्यक्रमले निर्धारण गरेका लक्ष्य हासिल गर्न कार्यान्वयन कार्ययोजना तयार गरी सोही बमोजिम गर्न निर्देशन दिने निर्णय गरेको छ ।
त्यस्तै, पिएलजिएसपी निर्देशक समितिको बैठकले चालु आव ०८२/०८३ को बार्षिक कार्यक्रम रणनीतिक कार्यान्वयन योजना स्वीकृत गर्ने निर्णय गर्दै आगामी बर्षको बजेट तयार गर्नुपूर्व आवश्यकता अनुसार समितिको बैठकको आयोजना गर्ने र चालु आवको कार्यक्रम कार्यान्वयन योजना तयार गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । त्यस्तै, प्रादेशिक कार्यक्रम संयोजकको अध्यक्षतामा गठन हुने प्रदेश प्राविधिक सहयोग समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले नवप्रर्वतन साझेदारी परियोजना प्रदेशका सबै जिल्लाका कम्तिमा एक पालिकामा सञ्चालन हुने व्यवस्था मिलाउने लगायतका निर्णय गरेको छ ।
बैठकमा मूख्यमन्त्री बानियाँ, आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारी, प्रमुख सचिव बाबुराम अधिकारी, गाउँपालिका महासंघ र जिसस महासंघका प्रतिनिधि, मूख्यमन्त्री कार्यालय र विभिन्न मन्त्रालयका सचिव, सुशासन केन्द्र र पिएलजिएसपीका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।










