हेटौँडा । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गीले हेटौँडा सडक विस्तारलाई सहजीकरण गर्न २५–२५ गज सीमा भित्र पर्ने आफ्नै निजी संरचना स्वयं भत्काउने घोषणा गरेका छन्। शुक्रबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा उनले आफू सडक विस्तारका पक्षमा दृढ रहेको स्पष्ट गरे।
सुमार्गीका अनुसार नौ वर्षअघि नै सडक विस्तारको प्रारम्भिक सूचना आएपछि घर खाली गरिसकिएको हो। तर राज्यले निजी सम्पत्ति प्रयोग गर्दा कानुनअनुसार मुआब्जा दिनु नैतिक र कानुनी दायित्व भएकाले त्यसका लागि लडाइँ भने जारी रहने उनले बताए।
उनले सडक क्षेत्रमा रहेका हजारौँ स्थानीय तथा व्यवसायी अझै मुआब्जा पाउनबाट वञ्चित रहेको जानकारी दिँदै,“सडक विस्तार रोक्ने पक्षमा छैन, तर पीडितले न्याय पाउनै पर्छ,”भने।
सुमार्गीका अनुसार उक्त क्षेत्रमै पाँच हजारभन्दा बढी व्यवसायी रहेका छन्, जसको व्यवस्थापनका लागि हेटौँडा उपमहानगरपालिकाले स्पष्ट योजना ल्याउनुपर्ने आवश्यकता उनले औँल्याए।
व्यवसायीबाट कर उठाउने तर आवश्यकता पर्दा व्यवस्थापनमै उदासीन हुने उपमहानगरपालिकाको व्यवहारप्रति समेत उनले असन्तोष व्यक्त गरे।
सडक डिभिजन कार्यालय, हेटौँडाले मंसिर ५ गते जारी गरेको सार्वजनिक सूचनामा रातोमाटेदेखि बुद्धचोक–राप्ती पुल र बुद्धचोक–सामरी पुलसम्मका सडक किनारका २५–२५ गज भित्रका सबै संरचना १५ दिनभित्र हटाउन भनिएको छ। उक्त समयसीमा मंसिर १९ गते सकिँदैछ।
सडक विस्तार प्रभावित स्थानीयले भने मुआब्जा नदिई संरचना हटाउन दवाब दिँदा आफूहरू सुकुम्बासी बन्नुपर्ने अवस्था आउने गुनासो राखेका छन्। उनीहरूले “मुआब्जा नदिएर अघि बढे जोखिम उठाउन बाध्य हुनेछौँ,”भन्दै चेतावनी पनि दिएका छन्।










