हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ पिपलबोटस्थित उद्योग वाणिज्य संघ अगाडि रहेको एक निजी घर भत्काउने क्रममा आइतबार दिउँसो दुर्घटना हुँदा तीन जना मजदुर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिकी जैसवालको घर आफैंले कामदार लगाई भत्काउने क्रममा दिउँसो करिब ३:५० बजे अचानक संरचना भासिँदा मजदुरहरू घाइते भएका हुन्। घटनापछि स्थानीयवासीको सहयोगमा प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको जनाएको छ।
दुर्घटनामा मकवानपुरगढी गाउँपालिका–१ रानिसेराका २२ वर्षीय सन्तोष भ्लोन, उदयपुर गाईघाट नगरपालिका–९ का २६ वर्षीय दिनेश चौधरी र उदयपुर बेलका नगरपालिका–१ पुरन्दाका ३० वर्षीय अरुण चौधरी घाइते भएका छन्। सन्तोष र दिनेशको मकवानपुर सहकारी अस्पतालमा तथा अरुणको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार तीनै जनाको शरीरका विभिन्न भागमा चोट लागेको छ भने उनीहरूको अवस्था हाल मध्यम रहेको छ।










