हेटौंडा । हेटौंडा जेसीजको आयोजनामा हेटौंडा – १३ नं. वडा कार्यालय र पदमपोखरी अस्पतालको सह–आयोजनामा तथा हेटौंडा सामुदायिक आँखा अस्पताल र नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगमा हेटौंडा वडा नं. १३ स्थित पदमपोखरी अस्पतालमा सोमबार बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरमा मधुमेह, रक्तचाप, आँखा तथा महिलाको पाठेघरसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो। हेटौंडा जेसीज वर्ष २०२५ का कानुनी सल्लाहकार विपिन ताम्राकारको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सभाध्यक्षता हेटौंडा जेसीज वर्ष २०२५ का शाखा अध्यक्ष सिनेटर पंकज दास बानियाँले गरेका थिए। कार्यक्रममा पदमपोखरी अस्पतालका प्रमुख डा. सवाना खातुन विशिष्ट अतिथि तथा हेटौंडा उपमहानगरपालिका–१३ का वडा अध्यक्ष पेम्बा लामा प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए।
शिविरमा हेटौंडा जेसीजका पूर्व अध्यक्षहरू, हेटौंडा सामुदायिक आँखा अस्पतालका प्राविधिक कृष्ण ढुङ्गाना, प्रहरी चौकी पदमपोखरीका प्रमुख दिपु लामा, महेन्द्र बहुमुखी क्याम्पसका प्रधानाध्यापक श्री वागन सिंह थिङ्ग तथा पदमपोखरी अस्पतालका सिनियर अहेव शेरबहादुर व्लोन लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम संयोजक विपिन ताम्राकारका अनुसार निःशुल्क स्वास्थ्य शिविरबाट कुल २५२ जना सेवाग्राही लाभान्वित भएका छन्, जसमा १५७ जना महिला र ९५ जना पुरुष रहेका छन्। शिविरअन्तर्गत ८४ जनाको मधुमेह परीक्षण गरिएको थियो भने ९० जना महिलाको पाठेघरसम्बन्धी सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षण गरिएका महिलामध्ये ८५ जनामा विभिन्न रोगका लक्षण देखिएकाले थप उपचार तथा परामर्शका लागि सिफारिस गरिएको छ।
त्यसैगरी आँखा परीक्षणका क्रममा २६ जनामा मोतियाबिन्दु देखिएको र ५ जना जलविन्दुका बिरामी पहिचान भएको संयोजक ताम्राकारले जानकारी दिए। मोतियाबिन्दुका बिरामीहरूको हेटौंडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने हेटौंडा जेसीजका कार्यकारी उपाध्यक्ष सन्तोष पराजुलीले बताए।
ग्रामीण तथा आर्थिक रूपमा कमजोर नागरिकलाई लक्षित गरी आयोजना गरिएको उक्त स्वास्थ्य शिविरलाई आगामी दिनमा थप विशेषज्ञ सेवासहित निरन्तरता दिनुपर्नेमा अतिथिहरूले जोड दिएका थिए। कार्यक्रममा पदमपोखरी अस्पतालका सिनियर अहेव शेरबहादुर व्लोन र प्रमुख अतिथि वडा अध्यक्ष पेम्बा लामाले यस्ता स्वास्थ्य शिविरले समुदायमा सकारात्मक प्रभाव पार्ने बताउँदै निरन्तरताको आवश्यकता औँल्याएका थिए।
शिविरको औपचारिक कार्यक्रम सञ्चालन हेटौंडा जेसीज वर्ष २०२५ का महासचिव जेसी संजय कुमार न्यौपानेले गरेका थिए।










