इन्द्रसरोवर तालमा आईचर गाडी खस्यो

 

मकवानपुर । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ स्थित मार्खुचौरमा शनिबार दिउँसो करिब ४:३० बजे आईचर गाडी इन्द्रसरोवर तालमा खसेको छ।

कंलकीबाट मार्खुतर्फ आउँदै गरेको बा ३ ख ३९५४ नम्बरको मिनरल वाटर (खानेपानी) बोकेको आईचर गाडी मार्खु–कंलकी सडक खण्डमा रोकी पानी झार्ने क्रममा अचानक अगाडि बढ्न गई सडकबाट करिब १५ मिटर तल इन्द्रसरोवर तालमा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी पोस्ट मार्खु, मकवानपुरबाट प्रहरी सहायक निरीक्षक दिपेश यादवको कमाण्डमा प्रहरी टोली खटिएको थियो। हाल गाडी तालको पानीमा डुबेर बाहिरबाट नदेखिने अवस्थामा रहेको र गाडी निकाल्ने आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।

आईचर गाडीका साहु ललितपुर महानगरपालिका–११, शंखमूल निवासी दिगज आमात्य रहेका छन्। गाडी चालक गोरखा जिल्लाको सुलीगढ गाउँपालिका–१ निवासी २१ वर्षीय सुजन परियार रहेका छन् भने सह–चालक मकवानपुरगढी गाउँपालिका–३ निवासी १८ वर्षीय सुजन जिम्बा रहेका छन्।

घटनामा कुनै पनि मानवीय क्षति नभएको पुष्टि गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घटनास्थल इलाका प्रहरी पोस्ट मार्खुबाट करिब ७ सय मिटर पूर्वतर्फ पर्दछ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.