झरना साहित्यिक परिवार मकवानपुरद्वारा सातौँ बकैया–कला साहित्य महोत्सव २०८२ हुँदै

 

हेटौँडा । झरना साहित्यिक परिवार मकवानपुरले ३२३ औँ साहित्य शृङ्खला तथा ३३ औँ वार्षिक उत्सवका अवसरमा सातौँ बकैया–कला साहित्य महोत्सव २०८२ आयोजना गर्ने भएको छ। आयोजकले शनिबार हेटौँडामा पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी गराएको हो।

पत्रकार सम्मेलनका अनुसार महोत्सव २०८२ फागुन ५ र ६ गते मकवानपुर जिल्लाको बकैया गाउँपालिका–४ स्थित महेन्द्र माध्यमिक विद्यालय परिसर मा सञ्चालन हुनेछ। महोत्सवको आयोजक झरना साहित्यिक परिवार मकवानपुर रहेको छ भने सहकार्य महेन्द्र मावि बकैया–४ र प्रायोजक बकैया गाउँपालिका रहेको छ।

पत्रकार सम्मेलनमा संस्थाकी अध्यक्ष गायत्री रूपाखेती, उपाध्यक्ष कृष्ण घतानी र सचिव नीलहरि ढुङ्गेल को उपस्थिति रहेको थियो।

महोत्सव अन्तर्गत पुरस्कार समर्पण, चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्य प्रस्तुति, ‘बकैयाको काव्य महक’, समकालीन गजल–मुक्तक उत्सव, पालिका अध्यक्षसँग ‘७ प्रश्न’, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचना वाचन तथा नवसर्जक रचना वाचनजस्ता विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिने आयोजकले जनाएको छ।

यस अवसरमा साहित्य, कला, पत्रकारिता तथा सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका विभिन्न स्रष्टा तथा व्यक्तित्वहरूलाई सम्मान प्रदान गरिनेछ।

साहित्यतर्फ प्रदान गरिने होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८२ (रु. २१,१२१) पाँचथरका साहित्यकार रमेश शुभेच्छुक लाई प्रदान गरिने भएको छ। मुक्तक विधातर्फको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०८२ (रु. १५,५५५) रुकुम पश्चिमका कर्णबहादुर खत्री लाई प्रदान गरिनेछ।

त्यसैगरी जिल्लामा साहित्यिक संस्था स्थापना तथा जगेर्नामा योगदान पुर्‍याएबापत बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८२ (रु. १५,५५५) मकवानपुरका डा. निमेष निखिल लाई प्रदान गरिनेछ।

युवा साहित्यकारलाई प्रदान गरिने खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८२ (रु. ८,५००) नेपालगञ्जकी ऋचा लुइटेल ले प्राप्त गर्ने भएकी छन्। मकवानपुरकी महिला साहित्यकारलाई प्रदान गरिने सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०८२ (रु. ७,७७७) संगीता थापा लाई प्रदान गरिनेछ।

त्यस्तै, सञ्जीवन (बुटी) साहित्य सम्मान–२०८२ (रु. ७,७७७) डा. अर्पण पराजुली लाई, गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८२ (रु. ११,१११) पत्रकार दीपक अधिकारी लाई प्रदान गरिनेछ।

बकैयाका नवप्रतिभालाई प्रदान गरिने झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८२ (रु. ५,५५५) बकैया–३ स्थित बुद्ध मावि हात्तीसुढेकी मोनिका नेगी लाई प्रदान गरिने भएको छ। कलाक्षेत्रतर्फको खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८२ (रु. ७,७७७) सूर्य सन्यासी लाई प्रदान गरिनेछ।

छन्द कवितामा योगदान पुर्‍याएबापत ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवी खनाल साहित्य सम्मान–२०८२ (रु. ९,००९) भैरहवाकी सिर्जना खनाल लाई प्रदान गरिने आयोजकले जनाएको छ।

यसै वर्षदेखि लोकगीत–संगीत क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले नयाँ सम्मान स्थापना गरिएको जानकारी दिँदै, संस्थाका संरक्षक उद्धव ले आफ्ना मातापिताको स्मृतिमा उक्त सम्मान स्थापना गरिएको बताएका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.