मकवानपुरमा एमाले कमजोर, जिल्ला अध्यक्ष पोखरेलको राजीनामा

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा मकवानपुरका दुबै निर्वाचन क्षेत्रमा नेकपा एमाले पराजित हुने निश्चितजस्तै भएपछि जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ।

सोमबार बिहान मकवानपुर–२ को अन्तिम नतिजा सार्वजनिक हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती विजयी भइसकेका छन्। यसैबीच क्षेत्र नम्बर १ मा पनि रास्वपाकै उम्मेदवार अग्रस्थानमा रहेकाले एमालेको अवस्था कमजोर बनेको छ।

परिणाम सार्वजनिक भएसँगै पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आजकै दिनदेखि लागू हुने गरी आफू जिल्ला अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो।

उहाँले प्रतिनिधिसभा निर्वाचनमा देशभर पार्टीले व्यहोरेको परिणामको गम्भीर समीक्षा हुनुपर्ने बताउँदै पार्टीभित्र व्यापक आत्मसमीक्षाको आवश्यकता औँल्याउनुभएको छ। जिल्ला अध्यक्ष पोखरेलले पार्टीको तल्लो तहदेखि केन्द्रीय नेतृत्वसम्म सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मआलोचना गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

पोखरेलले पार्टी अध्यक्षदेखि महासचिवसम्मले पनि पराजयको जिम्मेवारी लिनुपर्ने र आवश्यक परे पदबाट राजीनामा दिँदै पार्टी पुनर्गठनको प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.