बागमती प्रदेशमा मानव अधिकार उल्लंघनका घटना बढ्दो,३ हजारभन्दा बढी पीडित

हेटौंडा । बागमती प्रदेशमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा उल्लेखनीय वृद्धि भएको तथ्य सार्वजनिक भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सार्वजनिक गरिएको मानव अधिकार वर्ष पुस्तक २०२५ अनुसार प्रदेशभरि कुल ३ हजार १ सय ९६ जना मानव अधिकार उल्लंघनका कारण पीडित बनेका छन्।
गत वर्ष २०२४ को तुलनामा २०२५ मा राज्यपक्ष तथा अन्य पक्षबाट हुने घटनाहरूमा वृद्धि देखिएको इन्सेकले जनाएको छ। २०२४ मा २ हजार १ सय ७७ जना पीडित रहेकोमा २०२५ मा संख्या उल्लेख्य रूपमा बढेको हो।
तथ्यांकअनुसार २०२५ मा पीडितमध्ये १ हजार ९५ महिला, २ हजार ९३ पुरुष, ७ जना लैङ्गिक पहिचान नखुलेका र १ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका रहेका छन्। राज्यपक्षबाट मात्रै १ हजार ९ सय ६६ जना प्रभावित भएका छन् भने अन्य पक्षबाट १ हजार २ सयभन्दा बढी नागरिक पीडित बनेका छन्।
जिल्लागत रूपमा काठमाडौं सबैभन्दा बढी प्रभावित देखिएको छ, जहाँ २ हजार ३ सय ५५ वटा घटना दर्ता भएका छन्। त्यसपछि चितवन, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, धादिङ, नुवाकोट र मकवानपुरमा पनि उल्लेख्य संख्यामा घटनाहरू भएका छन्। रसुवा जिल्लामा भने सबैभन्दा कम ८ जना पीडित रहेको तथ्यांकमा उल्लेख छ।
यद्यपि, बालअधिकार र महिला अधिकार उल्लंघनका घटनामा केही सुधार देखिएको छ। बालअधिकार हननका घटना ५ सय ५७ बाट घटेर २ सय २९ मा झरेका छन् भने महिला अधिकार उल्लंघनका घटना पनि १ हजार ७७ बाट घटेर ६ सय २० मा सीमित भएका छन्।
यसैबीच, प्रदेशमा कारागारभित्र ४८ जना र हिरासतमा १ जनाको मृत्यु भएको छ। साथै, वर्षभरिमा ९४ जनाको हत्या भएको उल्लेख गरिएको छ, जसमा ४४ घटना राज्यपक्षसँग सम्बन्धित छन् भने ५० अन्य पक्षबाट भएका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.