ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

मनहरी। मकवानपुरको मनहरी गाउँपलिकाका विभिन्न वडामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरुले आफूहरुलाई ज्यालामा ठगी भएको भन्दै मनहरी गाउँपालिका कार्यालयसँग न्यायका लागि आग्रह गरेका छन् ।
विभिन्न योजनाहरुमा काम गर्दा ठेकेदार तथा कामको जिम्मा लिने पक्षबाट २ लाखभन्दा बढी ज्याला नपाएको भन्दै श्रमिकहरुले ज्याला दिलाइदिन गाउँपालिकासँग अनुरोध गरेका हुन् । अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरु विमला राईको नेतृत्वमा बिहीबार गाउँपालिका कार्यालय पुगेका थिए ।
श्रमिकहरूले ज्याला ठगी, असमान ज्याला र सामाजिक सुरक्षाको अभावविरुद्ध संयुक्त ध्यानाकर्षण तथा मागपत्र पेश गरेका हुन् । ‘हामी बिहानदेखि बेलुकासम्म पसिना बगाएर समाज र देश चलाइरहेका छौं, तर आफ्नै जीवन सुरक्षित गर्न संघर्षरत छौं’ मागपत्रमा भनिएको छ –‘मनहरीका २३ जना श्रमिकको २ लाख ११ हजार रुपैयाँ ज्याला ठगिएका छौँ । यो ज्याला रकम चाँडै दिलाइदिन गाउँपालिकालाई अनुरोध गर्दछौँ ।’ सबै प्रकारका ज्याला ठगीका घटनामा तत्काल छानबिन गरी पूर्ण भुक्तानी सुनिश्चित गर्न माग गरिएको छ ।
श्रमिकहरूले स्थानीय तहमा दर्ता गरी कानुनी मान्यता दिन, समान कामको समान ज्याला लागू गर्न, सुरक्षित कार्यस्थल, खानेपानी, शौचालय र सुरक्षा सामग्री अनिवार्य गर्न माग गरेका छन् ।
त्यस्तै, स्वास्थ्य बीमा, दुर्घटना बीमा र सामाजिक सुरक्षा योजनामा पहुँच सुनिश्चित गर्नुपर्ने, महिला श्रमिकका लागि सुरक्षित र सम्मानजनक कार्यस्थल, स्तनपान कक्ष तथा बाल स्याहार केन्द्र व्यवस्था गर्नुपर्ने माग पनि राखिएको छ ।
श्रम शोषण रोक्न प्रभावकारी अनुगमन संयन्त्र र उजुरी सुनुवाइ प्रणाली स्थापना गर्न तथा सुकुम्बासी र अनौपचारिक बस्तीमा बसोबास गर्ने श्रमिकको आवास अधिकार सुनिश्चित गर्न पनि उनीहरूले आग्रह गरेका छन् ।
श्रमिकहरुको ज्ञापनपत्र बुझ्दै मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले ज्याला ठगी सम्बन्धी यथार्थ बुझेर श्रमिकलाई बक्यौता रकम दिलाउने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गरिएको काममा भुक्तानी लिनेले श्रमिकलाई ज्याला नदिएको तथा अन्य ठेकेदारबाट पनि ठगी भएको गुनासो आएको भन्दै सबैको ज्याला दिलाइने उनले बताएका छन् ।
श्रमिकहरुले गाउँपालिकाको न्यायिक समिति र रोजगार शाखामा पनि ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.