कला स्वतन्त्र चेतनाको सबैभन्दा सुन्दर अभिव्यक्ति हो। तर स्वतन्त्रताको अर्थ जिम्मेवारीबाट मुक्त हुनु होइन। कलाकारले आफ्ना विचार, अनुभूति र असहमतिसमेत व्यक्त गर्न पाउँछ, तर त्यही अभिव्यक्तिले समाजमा पार्ने प्रभावप्रति पनि उत्तिकै सचेत हुनुपर्छ। स्वतन्त्रता र उच्छृङ्खलताबीचको सीमारेखा बुझ्न नसक्नु कलाकारको कमजोरी हो।
एउटा सुसंस्कृत, संवेदनशील र कलायुक्त व्यक्तिले प्रेम व्यक्त गर्दा कविता लेख्छ, कथा र उपन्यास रच्दछ, महाकाव्य सिर्जना गर्छ, वा कम्तीमा सम्मानपूर्ण एउटा प्रेमपत्रमार्फत आफ्ना भावना प्रकट गर्छ। तर छाडा मानसिकताले ग्रस्त व्यक्तिले प्रेम होइन, अधिकार खोज्छ; सम्मान होइन, जबर्जस्ती गर्छ; संवाद होइन, बल प्रयोग गर्छ। यही भिन्नताले कला र छाडापनबीचको दूरी स्पष्ट पार्छ।
कलाकार केवल आफ्नो लागि सिर्जना गर्ने व्यक्ति होइन। ऊ समाजका आँखाले हेरिने, कानले सुनिने र हृदयले महसुस गरिने सार्वजनिक व्यक्तित्व पनि हो। त्यसैले आफ्नो दर्शक, श्रोता र आफू उभिएको समाजको संवेदनशीलता, सांस्कृतिक चेतना र सामाजिक मनोविज्ञान बुझ्न नसक्नु कलाकारिताको एउटा ठूलो कमजोरी हो। सिर्जनाले समाजलाई चुनौती दिन सक्छ, सोच बदल्न सक्छ, बहस सिर्जना गर्न सक्छ, तर समाजलाई अनावश्यक रूपमा विभाजित, अपमानित वा आहत पार्ने माध्यम बन्नु हुँदैन।
व्यावसायिक कलाकारितामा कतिपय विषय यस्ता हुन्छन्, जहाँ आफ्नो व्यक्तिगत धारणाभन्दा व्यावसायिक विवेक ठूलो बन्नुपर्छ। धर्म, जाति, भाषा, संस्कृति, राजनीति, पारिवारिक मूल्य, लैङ्गिकता वा यौनिकताजस्ता अत्यन्त संवेदनशील विषयमा कलाकारले आफ्नो निजी विश्वासलाई सार्वजनिक प्रस्तुतिको केन्द्र बनाउनुअघि सयौँ पटक सोच्नुपर्ने हुन्छ। किनकि कलाकारको एउटा संवाद, एउटा दृश्य, एउटा अभिव्यक्ति वा एउटा छनोटले वर्षौँको मेहनतले निर्माण गरेको प्रतिष्ठा क्षणभरमै हल्लाउन सक्छ।
केही समयअघि गायिका अन्जु पन्तले आफू क्रिश्चियन भएकाले हिन्दू भजन नगाउने विषयमा सार्वजनिक विवादमा परिन्। पछि विवाद बढेपछि उनले रोएर माफी माग्दै आफ्नो स्वास्थ्य अवस्थाका कारण गीत गाउन नसकेको स्पष्टिकरण दिइन्। यस घटनाले उनलाई लामो समयसम्म विवादमा तान्यो।
यही सन्दर्भमा पछिल्ला दिनहरूमा गायक दुर्गेश थापाको नाम पनि व्यापक रूपमा चर्चामा रहँदै आएको छ। उनी अहिलेका सबैभन्दा चर्चित र व्यावसायिक रूपमा सफल कलाकारमध्ये एक हुन्। नाम, दाम र बदनाम—यी तीनै कुरा एउटै समयमा कमाउन सफल कलाकारका रूपमा उनलाई धेरैले चित्रण गर्छन्। उनको प्रस्तुति परम्परागत लोकगायनभन्दा बढी मनोरञ्जनमुखी, उत्तेजक र ध्यान खिच्ने शैलीमा आधारित देखिन्छ। नेपाली सांस्कृतिक परम्परागत पक्षलाई आधुनिक ढङ्गले तोडमोड गरेर प्रस्तुत गर्ने, द्विअर्थी शब्द, उत्तेजक दृश्य र असामान्य शैली प्रयोग गर्ने प्रवृत्ति उनको पहिचानजस्तै बनेको छ।
यही कारणले समाजको एउटा ठूलो वर्गले उनको शैलीलाई अस्वीकार गर्छ भने अर्कोतर्फ विशेषगरी किशोरकिशोरी र युवापुस्तामाझ उनी अत्यन्त लोकप्रिय छन्। उनका गीतहरूको करोडौँ भ्युज, सामाजिक सञ्जालमा व्यापक उपस्थिति र देशभरका महोत्सवमा उनको उच्च मागले त्यो लोकप्रियतालाई पुष्टि गर्छ।
यही क्रममा प्रियंका कार्की अभिनीत चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतलाई लिएर भएको विवादपछि दुर्गेश थापाले सार्वजनिक रूपमा माफी माग्दै उक्त गीत युट्युबबाट हटाउन बाध्य भए। यो समाजको प्रतिक्रिया र सामाजिक उत्तरदायित्वप्रतिको सम्मानको संकेत थियो। तर यस्ता लोकप्रिय कलाकारले समाजप्रतिको आफ्नो उत्तरदायित्वलाई पनि उत्तिकै गम्भीरतापूर्वक वहन गर्नु आजको आवश्यकता हो। लोकप्रिय हुनु आफैँमा गलत होइन, तर लोकप्रियतासँगै सामाजिक प्रभाव पनि बढ्ने भएकाले कलाकारले त्यसप्रतिको जिम्मेवारीलाई बेवास्ता गर्न मिल्दैन। यदि मनोरञ्जनसँगै मर्यादा, सांस्कृतिक संवेदनशीलता र सामाजिक जिम्मेवारीलाई पनि समान महत्त्व दिन सकियो भने त्यस्ता कलाकारको उचाइ अझ दीर्घकालीन र सम्मानित बन्न सक्छ।
हामीले छिमेकी भोजपुरी गीत–सङ्गीत क्षेत्रमा पनि देखेका छौँ कि अत्यधिक द्विअर्थी शब्द, अश्लीलता र सस्तो लोकप्रियताको प्रतिस्पर्धाले त्यहाँको एउटा ठूलो सांगीतिक धाराको प्रतिष्ठामै गम्भीर प्रश्न उठाइदियो। अहिले त्यही प्रवृत्तिका केही सङ्केत नेपाली गीत–सङ्गीत, विशेषगरी केही लोकदोहोरी तथा मनोरञ्जनप्रधान गीतहरूमा पनि देखिन थालेका छन्। यो प्रवृत्ति समयमै नियन्त्रण गर्न नसकिए नेपाली सङ्गीतको मौलिकता, मर्यादा र सांस्कृतिक गरिमा कमजोर हुन सक्ने जोखिम छ।
यसको अर्थ कलाकारको व्यक्तिगत स्वतन्त्रता समाप्त हुन्छ भन्ने होइन। प्रत्येक नागरिकझैँ कलाकारलाई पनि आफ्ना विचार राख्ने, नयाँ प्रयोग गर्ने, असहमति जनाउने र आफ्नो निजी जीवन बाँच्ने पूर्ण अधिकार छ। तर सार्वजनिक जीवन रोजेपछि उसका हरेक शब्द, दृश्य र प्रस्तुति केवल व्यक्तिगत रहँदैन; त्यसले समाजमा सन्देश पनि प्रवाह गर्छ। त्यसैले “यो मेरो निजी कुरा हो” भनेर सधैँ सार्वजनिक जिम्मेवारीबाट उम्किन सकिँदैन। निजी स्वतन्त्रता र सार्वजनिक उत्तरदायित्वबीचको सन्तुलन नै सफल कलाकारको वास्तविक पहिचान हो।
यदि कलाकारलाई सबै जातजाति, सबै धर्म, सबै भाषा, सबै पेशा, सबै क्षेत्र र सबै राजनीतिक आस्थाका मानिसको माया र सम्मान चाहिन्छ भने विभाजन बढाउने विषयभन्दा समाजलाई जोड्ने विषयमा बढी उभिन सक्नुपर्छ। देशमा पीडितका आँसु पुछ्ने अभियान, विपन्नका समस्या, बालविवाह, मानव बेचबिखन, यौन हिंसा, लैङ्गिक विभेद, मानसिक स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, राष्ट्रिय एकता र सामाजिक न्यायजस्ता विषयमा आफ्नो लोकप्रियता प्रयोग गर्न सके कलाकार मनोरञ्जनका पात्र मात्र हुँदैन, परिवर्तनको प्रेरणा बन्छ।
यससँगै अर्को महत्त्वपूर्ण पक्ष पनि छ। कला र अभिव्यक्तिको स्वतन्त्रता जोगिनुपर्छ, तर त्यसका नाममा छाडापन, अश्लीलता र सामाजिक उत्तरदायित्वहीनतालाई प्रोत्साहन गर्नु हुँदैन। नेपाली गीत–सङ्गीतमा सिर्जनात्मक स्वतन्त्रतासँगै उमेरअनुसारको वर्गीकरण (Age Rating), प्रसारण मापदण्ड र प्रभावकारी सामग्री नियमन (Content Regulation) बारे पनि गम्भीर बहस आवश्यक देखिन्छ। यसको उद्देश्य कलाकारलाई नियन्त्रण गर्नु होइन, समाज र नयाँ पुस्तालाई स्वस्थ सांस्कृतिक वातावरण उपलब्ध गराउनु हो।
यही सन्दर्भमा “भाइरल छाडा, छाडा” भन्दै सङ्गीतकार सुरेश अधिकारीले दुर्गेश थापा र प्रियंका कार्कीको विवादास्पद भिडियोबारे आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। साथै आम श्रोता–दर्शकको आलोचना, सुझाव र सल्लाहप्रति गम्भीर बन्दै आफूबाट भएको कमजोरीप्रति क्षमा माग्ने तथा विवादित सामग्री हटाउने निर्णय गर्नु गायक दुर्गेश थापा र नायिका प्रियंका कार्कीको सुझबुझपूर्ण र विनम्र कदम भएको टिप्पणी पनि उनले गरेका छन्।
अन्ततः कलाकारको महानता उसले कति विवाद जन्मायो भन्नेमा होइन; उसले कति हृदय जित्यो, कति चेतना जगायो र कति मानिसलाई सकारात्मक दिशातर्फ डोर्यायो भन्नेमा मापन हुन्छ। कला स्वतन्त्र हुनुपर्छ, तर त्यो स्वतन्त्रतामा विवेक, मर्यादा, संवेदनशीलता र उत्तरदायित्वको उज्यालो सधैँ साथमा हुनुपर्छ। कला नमरोस्, तर छाडापन पनि नबाँचोस्। कलाकारको सिर्जना समाजलाई विभाजित गर्ने होइन, समृद्ध बनाउने माध्यम बनोस्। इतिहासले कलाकारलाई विवादका लागि होइन, समाजलाई दिएको योगदानका लागि मात्र दीर्घकालसम्म सम्झिरहन्छ।








