हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक ट्याक्टर दुर्घटनामा एक दलित युवाको मृत्यु भएको घटनाले नयाँ मोड लिएको छ। प्रारम्भिक रूपमा दुर्घटनामा मृत्यु भएको भनिए पनि मृतकका परिवारले घटना रहस्यमय रहेको र प्रमाण लुकाउने प्रयास भएको आरोप लगाएपछि प्रहरीले विस्तृत अनुसन्धान थालेको छ।
मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–३ स्थायी घर भई हाल हेटौँडा–११ थानाभर्याङ बस्दै आएका २२ वर्षीय विक्रम खड्का रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार साँझ करिब ५ बजे हेटौँडा बजारबाट झमसिङटारतर्फ जाँदै गरेको म.प्र.०३–००२ त ०३९७ नम्बरको बालुवा बोकेको ट्याक्टर उकालो कच्ची सडकमा चिप्लिएर पल्टिँदा विक्रमको मृत्यु भएको थियो। उनको शव भने राति करिब १० बजे मात्रै हेटौँडा अस्पताल ल्याइएको थियो।
तर मृतकका आफन्तले घटनालाई सामान्य दुर्घटना मान्न नसकिने बताएका छन्। मृतकका भाइ सौभाग्य सुनारका अनुसार विक्रमको शव तन्नामा बेरेर अटोमा राखिएको अवस्थामा फेला परेको थियो। उनले दुर्घटनापछि तत्काल अस्पताल नलगिएको र साँझदेखि रातिसम्म शव विभिन्न स्थानमा लगिएको आरोप लगाएका छन्।
परिवारका अनुसार घटनापछि शव केही स्थानमा गाड्ने र पुनः निकाल्ने प्रयाससमेत भएको आशंका गरिएको छ। उनीहरूले ट्याक्टर चालक, ट्याक्टर धनी तथा घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिलाई नियन्त्रणमा लिएर निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्।
शव ओसार्न प्रयोग गरिएको अटो र त्यसका चालकको भूमिकामाथि पनि छानबिन हुनुपर्ने परिवारको माग छ। दोषीमाथि कानुनी कारबाही र उचित क्षतिपूर्ति सुनिश्चित नभएसम्म शव नबुझ्ने अडान परिवारले लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले परिवारबाट किटानी जाहेरी प्राप्त भएको र सोही आधारमा घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो।
उहाँका अनुसार ट्याक्टर चालक र ट्याक्टर धनी प्रहरीको सम्पर्कमा रहेका छन् तथा घटनासँग सम्बन्धित सबै पक्षबारे अनुसन्धान जारी छ।
डीएसपी काफ्लेले हालसम्म घटनालाई दुर्घटना वा अन्य आपराधिक घटना के हो भन्ने निष्कर्षमा प्रहरी नपुगेको बताउँदै अनुसन्धान सम्पन्न भएपछि वास्तविक तथ्य सार्वजनिक गरिने स्पष्ट पार्नुभयो।








