सीप छ, सपना छ तर अवसर छैन;अपाङ्गता र अभावसँग जुध्दै मिलन

हेटौंडा । अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त पूर्वाधार, गुणस्तरीय स्वास्थ्य सेवा, सामाजिक सुरक्षा तथा रोजगारीका अवसर सुनिश्चित गर्ने नीति बने पनि व्यवहारमा त्यसको प्रभाव सबैसम्म पुग्न सकेको छैन। हेटौंडा उपमहानगरपालिका–१ जरुवाटोलका २६ वर्षीय मिलन जिम्बाको जीवनले यही यथार्थलाई उजागर गर्छ।

जन्मजात शारीरिक अपाङ्गता भएका मिलनको कम्मरमुनिको भाग चल्दैन। उनी वर्षौंदेखि पुरानो र जीर्ण तीनपाङ्ग्रे ट्राइसाइकलकै भरमा दैनिक जीवन बिताइरहेका छन्। नयाँ ट्राइसाइकल किन्न आर्थिक क्षमता नभएकाले पुरानै साधनलाई आफैं मर्मत गरेर प्रयोग गर्न बाध्य छन्। शरीर घिसारेर हिँड्नुपर्दा ढाड, नितम्ब, तिघ्रा र खुट्टामा घाउसमेत बनेका छन्।
मिलनको बसोबास पनि निकै कष्टकर छ। जरुवाटोलस्थित सुकुम्बासी बस्तीमा टिनले बारिएको सानो अस्थायी टहरो नै उनको आश्रय हो। पानी पर्दा चुहिने छानो र साँघुरो बासस्थानमा उनी एक्लै जीवन बिताइरहेका छन्।

आर्थिक अभावसँगै पारिवारिक पीडाले पनि उनको जीवन झन् कठिन बनाएको छ। केही वर्षअघि जन्डिसका कारण आमा र दाजुको मृत्यु भयो भने हाल उनका बुबा भीमफेदी कारागारमा छन्। छिमेकी र सहयोगी मन भएका व्यक्तिहरूले दिएको खाद्यान्नकै भरमा उनको दैनिक गुजारा चलिरहेको छ। लगाउने पर्याप्त कपडा र सुरक्षित बसोबासको व्यवस्था समेत छैन।
उनसँग निलो रंगको अपाङ्गता परिचयपत्र भए पनि नवीकरण गर्न सकेका छैनन्। स्थायी ठेगाना रहेको हेटौंडा–१२ पुग्न खर्च र साथ दिने व्यक्ति नहुँदा परिचयपत्र नवीकरणसमेत रोकिएको छ।
शारीरिक अपाङ्गतासँगै स्वास्थ्य समस्या पनि थपिएको छ। पिसाबसम्बन्धी जटिलताका कारण नियमित रूपमा डायपर प्रयोग गर्नुपर्ने अवस्था छ। तर आर्थिक अभावका कारण आवश्यक उपचार र स्वास्थ्य सामग्री जुटाउन कठिन भइरहेको छ।
यति धेरै अभावका बीच पनि मिलनसँग आत्मनिर्भर बन्ने सीप भने छ। उनी वेल्डिङको काम गर्न जान्छन्। कोदाली, कुटो बनाउनेदेखि जुत्ता सिलाउनेसम्मका सीप उनीसँग छन्। तर लामो समय बसेर काम गर्न नसक्ने शारीरिक अवस्था र आवश्यक लगानीको अभावले उनको सीप आयआर्जनको माध्यम बन्न सकेको छैन।
मिलनको अपेक्षा धेरै ठूलो छैन। एउटा राम्रो तीनपाङ्ग्रे ट्राइसाइकल, सुरक्षित बसोबास, नियमित स्वास्थ्य उपचार र आफ्नो सीप प्रयोग गरेर सम्मानपूर्वक जीविकोपार्जन गर्ने अवसर पाए जीवन बदलिन सक्ने उनी बताउँछन्।

मिलनको कथा केवल एक व्यक्तिको संघर्ष मात्र होइन, पहुँचबाट टाढा रहेका अपाङ्गता भएका नागरिकले भोगिरहेका संरचनागत चुनौतीको प्रतिनिधि उदाहरण पनि हो। नीति र कार्यक्रमको प्रभाव वास्तविक लाभग्राहीसम्म पुग्न नसकेसम्म समान अवसर र सम्मानपूर्ण जीवनको अधिकार अझै अधुरै रहने देखिन्छ।
यसैबीच, राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशकी व्यवस्थापक सीता मल्ल ठकुरी का अनुसार केही वर्षअघि महासंघको पहलमा मिलनलाई काठमाडौंस्थित एक अस्पतालमा निःशुल्क उपचारका लागि समन्वय गरेर पठाइएको थियो। तर उनले उपचार पूरा नगरी केही दिनमै फर्किएका थिए र त्यसपछि लामो समय सम्पर्कमा आएका थिएनन्।
ठकुरीले महासंघले सम्पर्कमा रहँदा खाद्यान्नसहित आवश्यक सहयोग उपलब्ध गराउँदै आएको र हाल पनि उनको दीर्घकालीन व्यवस्थापन तथा पुनःस्थापनाका लागि आवश्यक पहल भइरहेको जानकारी दिइन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.