भीमफेदीमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्दा एक जनाको मृत्यु

 

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजपथमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

पालुङबाट वीरगञ्जतर्फ तरकारी लिएर जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के ट्रक मंगलबार राति करिब २ः३० बजे सडकबाट करिब १०० मिटर तल चण्डी खोलामा खसेको हो।

दुर्घटनामा राक्सिराङ गाउँपालिका–९ निवासी ३६ वर्षीय अर्जुन कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई उद्धार गरी हेटौँडा अस्पताल लगिएको भए पनि बिहान ९ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतक ट्रक चालकका काका रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्रक चालक राक्सिराङ–९ का २३ वर्षीय रञ्जित कार्की घाइते भएका छन्। उनको दायाँ खुट्टा भाँचिएको छ भने शरीरका अन्य भागमा पनि चोट लागेको छ। हाल उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ।

प्रहरीका अनुसार वर्षासँगै बाक्लो हुस्सुका कारण ओरालो सडकमा ट्रक चिप्लिएर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।आज बिहान ६ः३० बजे दुर्घटनाको सूचना प्राप्त भएपछि प्रहरी चौकी भैँसे र इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको नेतृत्वमा ट्राफिकसहितको टोली घटनास्थल पुगेर उद्धार गरेको थियो।

ट्रकमा चालकसहित दुई जना मात्र सवार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.