हेटौँडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमालेका सांसद किरण थापामगरले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको छ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि थापामगरले ६३ जना प्रदेशसभा सदस्यको समर्थन जुटाउँदै दाबी पेस गर्नुभएको हो।
थापामगरलाई एमालेका २५, नेकपा माओवादी केन्द्रका २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२ सांसदको समर्थन रहेको छ। उहाँले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्नुभएको हो।
दाबी पेससँगै एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा नेता उद्धव थापा र नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समर्थनपत्रमा हस्ताक्षर गर्नुभएको छ।
६३ सांसदको समर्थनसहित दाबी पेस गरेपछि बागमतीमा एमाले नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ।








