हेटौँडा । रसुवा जिल्लामा भदौ १० गते बुधबार आएको बाढीपछि सम्पर्कविहीन भनिएका मकवानपुरका १० जना आफन्तको सम्पर्कमा आएका छन् ।
सम्पर्कमा आउनेमा हेटौँडा उपमहानगरपालिका–५ का खिलप्रसाद पुडासैनी र सुनिता पुडासैनी रहेका छन् । उनीहरू गोसाइँकुण्ड तीर्थयात्राका लागि रसुवा पुगेका थिए ।
यस्तै मनहरी गाउँपालिकाका नन्दलाल सुवेदी, शिव सुवेदी, लोकनाथ ढुंगाना र प्रतिमा भण्डारी तथा मकवानपुरगढी गाउँपालिका–२ शिखरकटेरीका कृष्णबहादुर घलान पनि परिवारको सम्पर्कमा आएका छन् ।
भीमफेदी गाउँपालिकाका गोकुल सापकोटा, इशिका डंगोल र इस्मी डंगोल पनि सम्पर्कमा आएका छन् । उनीहरू पनि गोसाइँकुण्ड तीर्थयात्राका क्रममा रसुवा पुगेका थिए ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार रसुवा बाढीपछि हालसम्म मकवानपुरका ६५ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले जानकारी गराएका छन् । प्रशासनले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत सम्पर्कविहीन भनिएका व्यक्तिहरूको नामावली सार्वजनिक गरेको थियो ।
प्रशासनले सार्वजनिक गरेको संशोधित विवरणअनुसार हेटौँडा उपमहानगरपालिकाका २४ जना, थाहा नगरपालिकाका २४ जना, मनहरी गाउँपालिकाका ५ जना, भीमफेदी गाउँपालिकाका ३ जना तथा मकवानपुरगढी, बकैया, राक्सिराङ, कैलाश र इन्द्रसरोवर गाउँपालिकाका एक–एक जना सम्पर्कविहीन छन् । चार जनाको भने ठेगाना खुलाइएको छैन ।
यसअघि शुक्रबार साँझ सार्वजनिक गरिएको पहिलो सूचीमा ७५ जनाको नाम थियो । सूची सार्वजनिक भएपछि तीमध्ये १० जना सम्पर्कमा रहेको जानकारी प्राप्त भएपछि प्रशासनले ६५ जनाको संशोधित सूची सार्वजनिक गरेको हो ।
सम्पर्कविहीन हुनेमा सवारी चालक, गोसाइँकुण्ड तीर्थयात्री, बाढी प्रभावित क्षेत्रमा व्यवसाय गर्ने तथा विभिन्न परियोजनामा कार्यरत व्यक्तिहरू रहेको प्रशासनले जनाएको छ । उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
यसैबीच रसुवा बाढीमा परी मकवानपुरका चार जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा थाहा नगरपालिकाका शिक्षक राजकुमार आले मगर, हेटौँडा–१५ का सुमन गोले र रमेश मगर तथा हेटौँडा–५ का उद्धव खड्का रहेका छन् ।
थाहा नगरपालिकाका शिक्षक राजकुमार आलेको शव पहिचान भएको छ । हेटौँडा–१५ का २४ वर्षीय सुमन गोलेको शव नवलपरासीको बर्दघाटमा फेला परेको थियो भने सोही वडाका रमेश मगरको शव भरतपुर अस्पतालमा पहिचान गरिएको हो ।
हेटौँडा–५ का उद्धव खड्काको शव तनहुँमा फेला परेको थियो । पोखरास्थित अस्पतालको शवगृहमा राखिएको अवस्थामा उनको शव पहिचान भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो ।
सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यलाई प्रशासनले निरन्तरता दिएको जनाएको छ ।







