हेटौँडा । रामचन्द्र नेपाल १० वर्षका थिए, जतिबेला तत्कालीन द्वन्द्वका क्रममा उनको परिवारको घर जल्यो। पर्सागढी नगरपालिका–३ मा रहेको घर प्रतिकार समितिले जलाएपछि परिवार विस्थापित भयो। घरबार गुमाएको परिवार हेटौँडा आएर कोठा भाडामा बस्न थाल्यो।
घर गुमाएको पीडा सेलाउन नपाउँदै परिवारमाथि अर्को बज्रपात आइलाग्यो। नेपाली सेनाले पक्राउ गरेर लगेका रामचन्द्रका बुबा त्यसपछि कहिल्यै परिवारको सम्पर्कमा फर्किएनन्।
२०५९ सालको दशैँको नवमीका दिन सेनाले पक्राउ गरेर लगेका उनका बुबा २०६० मंसिर २ गतेदेखि बेपत्ता छन्। त्यसयता २३ वर्ष बितिसकेको छ। तर परिवारले अहिलेसम्म उनको अवस्था थाहा पाउन सकेको छैन।
बुबाको खोजीमा रामचन्द्रकी आमाले मानव अधिकार आयोगदेखि राज्यका विभिन्न निकायसम्म धाइन्। न्यायका लागि कानुनी बाटो रोजिन्। सरकारसँग प्रश्न गरिन्। तर वर्षौँको खोजी र संघर्षपछि पनि परिवारले न बुबाको सासको खबर पायो, न लासको।
“हामीले गर्नुपर्ने धेरै कुरा गर्यौँ। सरकारलाई मुद्दासमेत हाल्यौँ। हामीभन्दा पनि आमा धेरै ठाउँ धाउनुभयो। बुबालाई खोज्दाखोज्दै आमा आफैँ हराउनुहुन्छ कि भन्ने डर हुन्थ्यो,” रामचन्द्र सम्झन्छन्।समय बित्दै जाँदा बुबा फर्किने आशा कमजोर हुँदै गयो। तर बेपत्ताको पीडा भने झन् गहिरिँदै गयो। रामचन्द्रका लागि बुबाको मृत्यु भएको खबरभन्दा पनि उनको अवस्था थाहा नहुनु बढी पीडादायी छ।“मृत्यु भएको पीडाभन्दा पनि बेपत्ता भएको पीडा अझै धेरै पीडादायी हुने रहेछ। मानसिक पीडा बढी भोगियो,” उनी भन्छन्, “घरको मुली हराउँदाको आर्थिक समस्या छँदैछ। सामाजिकदेखि सबै पाटाका समस्याहरू आज पनि घाउ बनेर बसेका छन्।”
बुबाको अनुपस्थितिले परिवारको आर्थिक अवस्था मात्रै प्रभावित भएन, सामाजिक र सांस्कृतिक जीवनसमेत अपूर्ण बन्यो। परिवारमा अनिश्चितता कायमै रह्यो। समाजले बेपत्ता परिवारलाई हेर्ने दृष्टिकोणले समेत पीडा थप्दै गयो।
रामचन्द्रका दाजुले २०६७ सालमा कुशको लास बनाएर बुबाको दाहसंस्कार गरी काजक्रिया गरे। तर रामचन्द्रले त्यसलाई स्वीकार गर्न सकेनन्।
“दाइले काजक्रिया गर्नुभयो। तर मैले आजसम्म पनि गरेको छैन,” उनी भन्छन्, “बिना प्रमाण म केही गर्दिनँ। सरकारले कि त लास कि त सास देखाउनुपर्छ।”
द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारले पाउने राहतसमेत उनीहरूले लामो समयपछि मात्रै पाए। रामचन्द्रका अनुसार माओवादी नेतृत्वको सरकार बनेपछि मात्रै परिवारले अन्तरिम राहत पाउन थालेको थियो। किस्ताबन्दी रूपमा परिवारले १० लाख रुपैयाँ राहत पाएको उनको भनाइ छ।
तर आर्थिक राहतले २३ वर्षदेखिको पीडा मेटाउन सकेन।
“राज्यका लागि हामीले हाम्रो मान्छे गुमायौँ। पीडाबोध त्यतिबेला हुन्छ, जतिबेला राज्यका लागि हामीले हाम्रो मान्छे गुमाएका हुन्छौँ,” रामचन्द्र भन्छन्, “अहिले हामीलाई सरकारले नै अपमान गरेको महसुस हुन्छ। यो समस्या राज्यको समस्या हो।”
द्वन्द्वपीडितलाई हेर्ने सामाजिक दृष्टिकोणप्रति पनि उनी असन्तुष्ट छन्। द्वन्द्वका पीडितलाई हिंसा वा अपराधसँग जोडेर हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ छ।
“द्वन्द्वपीडितलाई आतंककारीको रूपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ। हामीले हत्या र हिंसा होइन, देशमा शान्ति छाओस् भन्ने चाहेका छौँ,” उनी भन्छन्।
अब बुबा फर्किने आशा आफूमा नरहेको रामचन्द्र बताउँछन्। तर त्यसले उनको खोजी र संघर्ष रोकिएको छैन।
उनको माग स्पष्ट छ- सरकारले बुबाको अवस्थाबारे सत्य बताओस्।“अब बुवा भेट्ने आशा त मरिसकेको छ। तर सरकारले कि त लास, कि त सास हामीलाई देखाइदिनुपर्छ,” उनी भन्छन्।
“म मेरो बुवाको कुनै संस्कार गर्ने छैन। सामाजिक रीतिरिवाजअनुसार पनि केही गर्ने छैन। बिना प्रमाण म केही गर्दिनँ,” उनी भन्छन्, “सरकारले कि त लास कि त सास दिनुपर्छ।”
घाउ बोकेर बाँचेका द्वन्द्वपीडित
रामचन्द्रको कथा एउटा परिवारको मात्रै कथा होइन। नेपालमा सशस्त्र द्वन्द्व अन्त्य भएको लामो समय बितिसक्दा पनि द्वन्द्वपीडित परिवारका घाउ अझै निको भएका छैनन्।
हेटौँडा र आसपासका घाइते तथा अपाङ्गता भएका द्वन्द्वपीडितहरूको अवस्था पनि उस्तै कष्टकर छ। द्वन्द्वका क्रममा शरीरमा लागेका गोली र छर्रा आर्थिक अभावका कारण अझै निकाल्न नसकेका पीडितहरू छन्।
“देशमा व्यवस्था बदलियो, नेताहरू सत्तामा पुगे, तर हाम्रो शरीरमा भएका गोली र छर्रा अझै निस्किएका छैनन्,” हेटौँडाका एक घाइते द्वन्द्वपीडितले आँसु झार्दै भने।
द्वन्द्वका क्रममा शरीरमा लागेका छर्रा कतिपयको नसा र मेरुदण्ड नजिकै अड्किएका छन्। ती निकाल्न ठूला अस्पतालमा उपचार गराउनुपर्ने र लाखौँ रुपैयाँ खर्च हुने अवस्था छ। आर्थिक अभावका कारण उपचार गर्न नसकेका पीडितहरू मौसम परिवर्तन हुँदा, विशेषगरी चिसो बढ्दा, शरीरभित्र रहेका छर्राले पीडा दिने गरेको बताउँछन्।
उपचारको अभावमा धेरैजसो पीडित अहिले भारी काम गर्न नसक्ने अवस्थामा पुगेका छन्। कतिपय अशक्त भएका छन्। परिवार पाल्ने जिम्मेवारी र आफ्नै उपचारको खर्चबीच उनीहरूको जीवन झन् कठिन बन्दै गएको छ।
“औषधि किन्ने पैसा छैन, बालबच्चा पढाउन धौ–धौ छ। राज्यले हाम्रो घाउमा मलम लगाउनुको साटो उल्टै बेवास्ता गर्यो,” हेटौँडाका द्वन्द्वपीडितहरूको साझा गुनासो छ।
आयोगमा उजुरी, पीडित अझै प्रतीक्षामा
द्वन्द्वकालीन घटनाको सत्य पत्ता लगाउने र पीडितलाई न्याय दिलाउने उद्देश्यले विभिन्न समयमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भए। आयोगका टोलीहरू हेटौँडा पुगेर पीडितको लगत संकलन र बयान लिए। तर पीडितहरूले भने त्यसपछि उपचार, राहत र न्यायको ठोस अनुभूति गर्न नसकेको गुनासो गर्दै आएका छन्।
सरकारले घाइतेहरूको वर्गीकरण गरेर परिचयपत्र वितरण गरे पनि त्यसबाट वास्तविक जीवनमा राहत नपाएको पीडितहरूको गुनासो छ।
मानव अधिकार आयोग बागमती प्रदेशका अधिकृत कृष्णप्रसाद मिश्रका अनुसार बागमती प्रदेशबाट द्वन्द्वका क्रममा २५२ जना बेपत्ता भएको तथ्यांक छ। उनका अनुसार काठमाडौंका १४५, भक्तपुरका १५, ललितपुरका १७, चितवनका १३, सिन्धुपाल्चोकका १३, काभ्रेका १०, सिन्धुलीका ६, रामेछापका ७, मकवानपुरका ६, नुवाकोटका ८ र धादिङका १२ जना बेपत्ता भएका छन्।
मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख चन्द्रकान्त चापागाईंका अनुसार शान्ति सम्झौतापछि पनि बेपत्ता भएका घटनाहरू रहेको पाइएको छ। पुराना घटनाका कारण अनुसन्धान जटिल बने पनि आयोगले अनुसन्धान जारी राखेको उनले बताए।
२ हजार ५४२ उजुरी अझै छानबिनमा
राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार आयोगमा बेपत्ता पारिएका व्यक्तिसम्बन्धी ३ हजार २८८ उजुरी दर्ता भएका छन्। तीमध्ये ७४६ उजुरी फर्छ्योट भएका छन् भने २ हजार ५४२ उजुरी अझै छानबिनको क्रममा छन्।
छानबिनमा रहेका उजुरीका आधारमा २ हजार ५५७ जना बेपत्ता पारिएको आयोगको तथ्यांक छ। तीमध्ये ४८ जना आवधिक र २ हजार ५०१ जना पूर्णरूपमा बेपत्ता भएको उल्लेख छ।
उजुरीका आधारमा पीडित परिवारलाई परिचयपत्र वितरण तथा राहत सिफारिसको प्रक्रिया पनि अघि बढाइएको छ। आयोगले राहत नपाएका ५५१ बेपत्ता परिवारलाई विभिन्न मितिमा राहतका लागि सिफारिस गरेकोमा हालसम्म ९३ परिवारले मात्रै राहत प्राप्त गरेको र ४५८ परिवारले अझै राहत नपाएको प्रतिवेदनमा उल्लेख छ।
आयोगको तथ्यांकअनुसार बेपत्ता पारिएका व्यक्तिमध्ये पुरुषको संख्या २ हजार ३५३ अर्थात् ९२.०२ प्रतिशत र महिलाको संख्या २०४ अर्थात् ७.९७ प्रतिशत छ। पेशागत रूपमा सबैभन्दा बढी कृषि पेशामा संलग्न व्यक्ति ५६.५१ प्रतिशत र त्यसपछि विद्यार्थी ११.०२ प्रतिशत रहेको देखिन्छ।
प्रदेशगत रूपमा सबैभन्दा बढी उजुरी लुम्बिनी प्रदेशबाट ८८१ अर्थात् २६.७३ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशबाट २१५ अर्थात् ६.५३ प्रतिशत छन्। बागमती प्रदेशबाट ५४४ अर्थात् १६.५४ प्रतिशत उजुरी दर्ता भएको आयोगको प्रतिवेदनमा उल्लेख छ।
उमेर समूहअनुसार १५ वर्षसम्मका १०१, १६ देखि ३० वर्षसम्मका १ हजार २२९, ३१ देखि ४० वर्षसम्मका ५१६, ४१ देखि ५० वर्षसम्मका २६२, ५१ देखि ६० वर्षसम्मका ११८ र ६१ वर्षमाथिका ४० जना छन्। २९१ जनाको उमेर खुल्न नसकेको आयोगको तथ्यांक छ।
तथ्यांक संकलन भयो, न्याय कहिले?
द्वन्द्वपीडित तथा बेपत्ता व्यक्तिको तथ्यांक संकलनको काम सम्पन्न भइसकेको आयोगको प्रतिवेदनले जनाएको छ। तर हत्या, अंगभंग, जबर्जस्ती बेपत्ता, अपहरण, यातना तथा कुटपिट, यौनजन्य हिंसा, सम्पत्ति कब्जा तथा नष्ट र जबर्जस्ती विस्थापनलगायत घटनाका पीडितले अझै न्यायको अनुभूति गर्न सकेका छैनन्।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा दर्ता भएका ३ हजार २८८ उजुरीमध्ये २७७ उजुरी सत्य निरूपण तथा मेलमिलाप आयोगमा पठाइएको छ। दोहोरो उजुरी परेका १३७ उजुरीको लगत कट्टा गरिएको छ भने २९२ उजुरी तामेलीमा राखिएको र ८ उजुरी तामेलीबाट जगाइएको आयोगको प्रगति विवरणमा उल्लेख छ।
४८ जना बेपत्ता व्यक्ति फेला परेपछि सम्बन्धित उजुरीको लगत कट्टा गरिएको छ। विस्तृत छानबिनका लागि २ हजार ५१५ उजुरीमा आयोगबाट निर्णय भएको छ। आयोगका अनुसार ७५ जिल्लामा विस्तृत छानबिनको पहिलो चरणको काम सम्पन्न भएको छ।
तर यति लामो समय बितिसक्दा पनि पीडित परिवारको मूल प्रश्न भने अनुत्तरित छ- सत्य के हो?
‘सास कि लास’को लडाइँ
रामचन्द्रको बुबा बेपत्ता भएको २३ वर्ष भयो। एउटा बालकका रूपमा बुबाको प्रतीक्षा गरेका उनी अहिले आफैँ वयस्क भइसके। घर जलाइएको घटना, विस्थापन, बुबाको बेपत्ता र त्यसपछि सुरु भएको खोजी तथा संघर्ष उनका जीवनका स्थायी स्मृति बनेका छन्।
बुबा फर्किने आशा अब नरहे पनि उनी सत्यको खोजीबाट पछि हट्न चाहँदैनन्।“कि त सास, कि त लासको लडाइँ म निरन्तर लडिरहन्छु,” उनी भन्छन्, “जब सम्म बाँचिरहन्छु, यो लडाइँ जारी रहन्छ।” बेपत्ता दिवसले हरेक वर्ष यस्ता परिवारको पीडा सम्झाउँछ। तर उनीहरूका लागि यो केवल सम्झनाको दिन होइन, राज्यसँग जवाफ माग्ने दिन पनि हो।
द्वन्द्व सकिएको दुई दशक पुग्न लाग्दा व्यवस्था फेरिएको छ, सरकार फेरिएका छन्, राजनीतिक नेतृत्व फेरिएको छ। तर बेपत्ता परिवारको प्रतीक्षा फेरिएको छैन।
रामचन्द्रको प्रश्न आज पनि उस्तै छ,“मेरो बुबा कहाँ छन्?” २३ वर्षदेखि उत्तरविहीन यो प्रश्न एउटा परिवारको मात्रै होइन। यो न्याय, सत्य र राज्यको जवाफदेहितासँग जोडिएको प्रश्न हो। मृत्युको शोकको पनि अन्त्य हुन्छ। तर बेपत्ताको पीडा तबसम्म अन्त्य हुँदैन, जबसम्म सत्य थाहा हुँदैन।








