मकवानपुरमा एक वर्षमा १,२६३ मुद्दा दर्ता, १,२५४ जना पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८२/८३ मा १ हजार २ सय ६३ वटा मुद्दा दर्ता गरी १ हजार २ सय ५४ जनालाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले सोमबार पत्रकार सम्मेलन गर्दै जिल्लाको पछिल्लो अपराध अनुसन्धान तथा प्रहरी कारबाहीसम्बन्धी विवरण सार्वजनिक गरेका हुन्।

प्रहरीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मकवानपुरमा १ हजार १९ वटा मुद्दा दर्ता भएकोमा २०८१/८२ मा १ हजार २८ र २०८२/८३ मा १ हजार २ सय ६३ वटा मुद्दा दर्ता भएका छन्। पछिल्लो आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा २ सय ३५ वटा बढी मुद्दा दर्ता भएका छन्।

आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना अर्थात् साउनदेखि पुससम्म ६ सय २३ वटा मुद्दा दर्ता हुँदा ५ सय ५५ जना पक्राउ परेका थिए। माघदेखि असारसम्म थप ६ सय ५० मुद्दा दर्ता भई ६ सय ९९ जना पक्राउ परेका प्रहरीले जनाएको छ।

लागूऔषधतर्फ ठूलो परिमाणमा बरामद

प्रहरीको तथ्यांकअनुसार मकवानपुरमा लागूऔषधसम्बन्धी मुद्दा पनि उल्लेख्य छ। आर्थिक वर्ष २०८२/८३ मा २ सय ३४ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन्।

यस अवधिमा प्रहरीले २ हजार ६ सय २९ किलो गाँजा, १ सय २५ किलो १८६ ग्राम चरेस, ४९ किलो ९ सय ग्राम अफिम, ३ सय १० ग्राम ७३२ मिलिग्राम खैरो हेरोइन तथा ३९ हजार २ सय ३० क्याप्सुल ट्रामाडोल बरामद गरेको जनाएको छ।

लागूऔषध मुद्दामा मात्रै ४ सय ४ जना पक्राउ परेका छन्। लागूऔषध ओसारपसारमा प्रयोग भएका ६७ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

फरार प्रतिवादी पक्राउमा पनि प्रहरीको सक्रियता

मकवानपुर जिल्ला अदालत हेटौँडाबाट जारी भएका फैसला कार्यान्वयनअन्तर्गत प्रहरीले आर्थिक वर्ष २०८२/८३ मा २ सय ३८ जना फरार प्रतिवादी पक्राउ गरेको छ।

साउन–पुससम्म ९७ जना र माघ–असारसम्म १४१ जना फरार प्रतिवादी पक्राउ परेका हुन्। पक्राउ परेका प्रतिवादीबाट अदालतले तोकेको कुल १०६ वर्ष ७ महिना ५ दिन कैद कार्यान्वयन भएको प्रहरीले जनाएको छ।

एसपी खत्रीले जिल्लामा अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, लागूऔषध नियन्त्रण तथा फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखेर प्रहरी परिचालन गरिएको जानकारी दिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.