हेटौँडा–९ को स्वास्थ्य सेवा;औषधिदेखि विशेषज्ञ चिकित्सकसम्म निःशुल्क

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–९ मा बिरामी पर्दा उपचारका लागि पैसा खोज्नुपर्ने बाध्यता कम हुँदै गएको छ । दीर्घरोगी नागरिकले नियमित औषधि खरिद गर्न मासिक खर्च जुटाउनुपर्दैन भने स्वास्थ्य परीक्षणसमेत निःशुल्क हुने गरेको छ ।

२०७९ सालदेखि स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको वडा कार्यालयले लामसुरे शहरी स्वास्थ्य केन्द्रलाई गाउँको अस्पतालको अवधारणाअनुसार विकास गर्दै आएको हो । स्वास्थ्य केन्द्रबाट उपचार, स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरणदेखि विशेषज्ञ चिकित्सकको सेवा समेत उपलब्ध गराइँदै आएको छ ।

स्वास्थ्य केन्द्रका अनुसार दैनिक ४० देखि ५० जनासम्म उपचार, स्वास्थ्य परीक्षण तथा दीर्घरोगको औषधि लिन आउने गरेका छन् । आर्थिक वर्ष २०८२/८३ मा मात्रै नसर्ने रोगका करिब २ हजार २२ जनाले सेवा लिएका छन् । पछिल्लो समय स्वास्थ्य केन्द्रबाट मासिक करिब ७ सय सेवाग्राहीले विभिन्न सेवा लिने गरेका छन् ।

करिब साढे चार वर्षको अवधिमा स्वास्थ्य केन्द्रबाट १३ हजारभन्दा बढी नागरिकले निःशुल्क स्वास्थ्य उपचार तथा औषधि सेवा लिएका छन् ।

नेपाल सरकारबाट उपलब्ध हुने ९८ प्रकारका औषधिसँगै वडा कार्यालयले आफ्नै बजेटबाट नसर्ने रोगका बिरामीका लागि थप ८१/८२ प्रकारका औषधि खरिद गरी वितरण गर्दै आएको छ ।

प्रोस्टेट, दम, उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मानसिक रोग, कोलेस्ट्रोल, बाथ, थाइराइडलगायतका दीर्घ तथा नसर्ने रोगका बिरामीलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराइन्छ । दमका बिरामीले प्रयोग गर्ने रोटाक्याप, आस्थालिनलगायत तुलनात्मक रूपमा महँगा औषधिसमेत स्वास्थ्य केन्द्रबाट निःशुल्क पाउने गरेका छन् ।

“कतिपय बिरामीले महिनामा ५ देखि ८ हजार रुपैयाँसम्मका औषधि यहाँबाट पाउँदै आउनुभएको छ,” वडाध्यक्ष सुकराम केसी भन्छन्, “महिनामा ५ हजार रुपैयाँको औषधि किन्न नसक्ने परिवारका लागि निःशुल्क औषधि उपचारको व्यवस्था गर्न सक्नु महत्वपूर्ण कुरा हो ।”

वडाले निःशुल्क स्वास्थ्य सेवा विस्तार गर्ने अभियान २०७९ सालमा ५ लाख रुपैयाँ बजेटबाट सुरु गरेको थियो । २०८० सालमा बजेट बढाएर १० लाख रुपैयाँ पुर्‍याइएको थियो । अहिले स्वास्थ्य सेवाका लागि वडा कार्यालयले वार्षिक २० लाख रुपैयाँसम्म बजेट छुट्याउँदै आएको छ ।

स्वास्थ्य सेवामा वडा कार्यालयसँगै प्रदेश सरकार र निजी क्षेत्रको समेत सहयोग रहेको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा १० लाख रुपैयाँ सहयोग गरेको थियो । उक्त रकमबाट स्वास्थ्य उपकरण खरिद गरिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ का लागि पनि मन्त्रालयले १० लाख रुपैयाँ बजेट छुट्याएको वडाध्यक्ष केसीले बताउनुभयो ।

हेटौंडा औद्योगिक क्षेत्रस्थित ब्रजर पेन्ट्स प्रालिले उपलब्ध गराएको ५ लाख रुपैयाँ सहयोगबाट सुत्केरी महिलाको स्वास्थ्य परीक्षणका लागि आवश्यक उपकरण खरिद गरिएको छ ।

वडा कार्यालयले हेटौंडा–९ मै रहेको मानव सेवा आश्रमलाई समेत वार्षिक १० लाख रुपैयाँ सहयोग गर्दै आएको छ । उक्त रकम आश्रममा रहेका वृद्धवृद्धाको औषधि उपचारमा खर्च हुने गरेको छ ।

दीर्घरोगीका लागि औषधि मात्रै पर्याप्त नहुने भएपछि वडा कार्यालयले विशेषज्ञ चिकित्सकको सेवा समेत स्वास्थ्य केन्द्रमै उपलब्ध गराउँदै आएको छ । बागमती प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग वार्षिक सम्झौता गरी विशेषज्ञ चिकित्सक स्वास्थ्य केन्द्रमा ल्याउने गरिएको छ ।

स्वास्थ्य केन्द्रका अनुसार फिजिसियन चिकित्सक महिनामा दुई पटक स्वास्थ्य केन्द्रमा आउने गरेका छन् । महिला रोग विशेषज्ञ तथा अल्ट्रासाउण्डसम्बन्धी चिकित्सकसमेत निर्धारित समयमा सेवा दिन आउने गरेका छन् । हरेक महिनाको १४ र १७ गते चिकित्सकको सेवा तथा २२ गते गाइनोलोजिस्ट र अल्ट्रासाउण्ड चिकित्सकको सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसले विशेषज्ञको सल्लाह आवश्यक पर्ने बिरामीलाई टाढा अस्पताल धाउनुपर्ने बाध्यता कम गरेको छ ।

स्वास्थ्य केन्द्रमा प्रयोगशाला सेवासमेत सञ्चालनमा छ । यहाँ करिब २० प्रकारका स्वास्थ्य परीक्षण हुने र सेवाग्राहीले त्यसका लागि शुल्क तिर्नु नपर्ने स्वास्थ्य केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख प्रकाश श्रेष्ठका अनुसार स्वास्थ्य परीक्षण, औषधि वितरण तथा सामान्य उपचारका लागि आउने सेवाग्राहीलाई आवश्यकताअनुसार सेवा दिइँदै आएको छ । दमलगायतका सामान्य रोगको उपचारसमेत स्वास्थ्य केन्द्रबाट हुने गरेको उहाँले बताउनुभयो।

स्वास्थ्य केन्द्रमा महिनामा दुई दिन नियमित खोप सेवा पनि सञ्चालन हुँदै आएको छ ।

स्वास्थ्य सेवा स्वास्थ्य केन्द्रमा आउने नागरिकमा मात्रै सीमित छैन । हिँडडुल गर्न नसक्ने, अशक्त तथा दीर्घरोगीलाई स्वास्थ्यकर्मीले घरमै पुगेर सेवा दिने गरेका छन् ।

घरदैलो स्वास्थ्य सेवाका लागि चार जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।

वडाले दुई स्थानमा टोल क्लिनिकसमेत सञ्चालन गर्दै आएको छ । शिव पाञ्चायन मन्दिर र कालिमाई मन्दिरमा महिनामा दुई पटक टोल क्लिनिक सञ्चालन हुने गरेको छ ।

स्वास्थ्यमा गरिएको लगानीको पछाडि वडामा बढ्दै गएको नसर्ने रोगको अवस्था प्रमुख कारण रहेको वडाध्यक्ष केसी बताउनुहुन्छ ।

२०७९ सालमा वडा कार्यालयले वडाका २४ वटा टोल विकास संस्थाभित्र रहेका घरधुरीको सर्वेक्षण गरेको थियो । कुन घरमा कति बिरामी छन्, कुन प्रकारका रोगी छन् र कुन रोगको समस्या बढी छ भन्ने तथ्यांक संकलन गरिएको थियो । सोही तथ्यांकका आधारमा वडाले स्वास्थ्य क्षेत्रको प्राथमिकता निर्धारण गर्दै आएको छ ।

स्वास्थ्य केन्द्रको तथ्यांकअनुसार अहिले उच्च रक्तचाप र मधुमेहका बिरामीको संख्या उल्लेख्य छ । उच्च रक्तचापका १०८ जना नयाँ बिरामी तथा १ हजार १६१ जना पुनः उपचारमा रहेका छन् । त्यस्तै मधुमेहका ६४ जना नयाँ र ४७४ जना पुनः उपचारमा रहेका छन् ।

मुटु तथा रक्तनलीसम्बन्धी रोगका ७ जना नयाँ र ८४ जना पुनः उपचारमा छन् । फोक्सोसम्बन्धी रोगका १६ जना नयाँ र ८२ जना पुनः उपचारमा रहेका छन् । थाइराइडका २४ जना नयाँ र ७८ जना पुनः उपचारमा छन् ।

क्यान्सरका ३० देखि ६९ वर्ष उमेर समूहका २ जना नयाँ बिरामी रहेको स्वास्थ्य केन्द्रको तथ्यांकमा उल्लेख छ । अन्य गैरसंक्रामक रोगका ९ जना नयाँ र ५७ जना पुनः उपचारमा रहेका छन् ।

वडाध्यक्ष केसीका अनुसार २०७९ देखि २०८३ सालसम्म हेटौंडा–९ का २० जनाले क्यान्सरका कारण ज्यान गुमाएका छन् ।

“क्यान्सरबाट वर्षेनी वडावासीको मृत्यु हुँदा असह्य पीडा हुन्छ,” केसी भन्नुहुन्छ, “त्यसैले स्वास्थ्य र शिक्षामा वडाको क्षमताले भ्याएसम्म लगानी गरेर काम गर्दै आएका छौं ।”

स्वास्थ्य केन्द्रलाई अझ व्यवस्थित बनाउने योजना स्वास्थ्य केन्द्रमा हाल सिनियर अहेब, अहेब, अनमी, ल्याब असिस्टेन्ट र कार्यालय सहयोगीसहितका जनशक्ति कार्यरत छन् । नगरपालिकाले स्वास्थ्यकर्मीको पारिश्रमिक व्यवस्थापन गर्दै आएको छ भने कार्यालय सहयोगी तथा स्वास्थ्य स्वयंसेविकाको खर्च वडा कार्यालयले आफ्नै स्रोतबाट व्यवस्थापन गर्दै आएको छ ।

स्वास्थ्य केन्द्रमा सेवा विस्तार हुँदै गएसँगै थप जनशक्ति तथा उपकरणको आवश्यकता समेत देखिएको छ । स्वास्थ्यकर्मीलाई आवश्यक तालिम उपलब्ध गराउन सके थप सेवा विस्तार गर्न सकिने स्वास्थ्य केन्द्रको भनाइ छ ।

वडाध्यक्ष केसी भने स्वास्थ्यलाई आधारभूत आवश्यकता मानेर आगामी दिनमा समेत सेवा विस्तार गर्ने पक्षमा छन् । स्थानीय तहको आफ्नै स्रोत, प्रदेश सरकार तथा निजी क्षेत्रको सहयोगलाई जोड्दै हेटौंडा–९ का नागरिकलाई घरनजिकै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने वडाको प्रयास जारी छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.