भीमफेदी दुर्घटनाले उजाडियो एक परिवार, गर्भवती श्रीमतीसहित ६ को मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको यात्रुवाहक ईभी दुर्घटनाले एक परिवारलाई शोकमा डुबाएको छ। दुर्घटनामा सर्लाहीको एकै परिवारका ६ जनाको मृत्यु भएको छ भने १४ महिने बालक गम्भीर घाइते भएका छन्।
दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका अवधेश यादवले गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका हुन्। छठ पर्व मनाउन काठमाडौंस्थित बसोबासबाट परिवारका सदस्यहरू सर्लाही फर्किंदै थिए।
गाडीमा सिट संख्या अपुग भएपछि अवधेश भने मोटरसाइकलमा छुट्टै आउँदै थिए। उनी मोटरसाइकलमा पछिपछि आइरहेका बेला बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढी नजिक परिवार सवार मधेश प्रदेश ०३–००१ ०८८० नम्बरको यात्रुवाहक ईभी गाडी दुर्घटनामा परेको थियो।
दुर्घटनामा मृत्यु हुनेमा अवधेशकी ३५ वर्षीया गर्भवती श्रीमती पुनम देवी यादव, १० वर्षीया छोरी अनु कुमारी यादव, ७ वर्षीया दीक्षा यादव र ५ वर्षीया दीपिका यादव छन्। त्यस्तै, उनका दुई भाइ दीपेश यादव र सुरेश यादवको पनि दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा अवधेशका १४ महिने छोरा सुदीप यादव गम्भीर घाइते भएका छन्। घटनास्थलबाट उद्धार गरी उनलाई थप उपचारका लागि काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पताल पठाइएको छ।
छठ पर्व मनाउन हिँडेको परिवार दुर्घटनामा परेपछि अवधेशले एकैपटक श्रीमती, सन्तान र भाइहरू गुमाएका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.