२६ वर्षपछि हेटौँडा कपडा उद्योगमा उत्पादन, परीक्षणमै बन्यो ५ हजार २०० मिटर कपडा

 

हेटौँडा । २६ वर्षदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा नेपाली सेनाको प्राविधिक सहयोगमा पुनः कपडा उत्पादन सुरु भएको छ। उद्योगबाट हालसम्म पाँच हजार २०० मिटर कपडा परीक्षण उत्पादन गरिएको छ।

सरकारले गत असार १८ गते उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेसँगै सेनाको प्राविधिक टोली र उद्योगका पुराना श्रमिकको सहयोगमा उत्पादन परीक्षण भइरहेको हो।
लामो समयदेखि प्रयोगविहीन रहेका मेसिन मर्मत तथा प्राविधिक सुधार गरी हाल १५ वटा लुम सञ्चालनमा ल्याइएको छ। सञ्चालनमा रहेका लुममध्ये चारवटा पूर्ण स्वचालित बनाइएको छ भने ११ वटा पुरानै प्रविधिअनुसार मर्मत गरिएको हो। थप पाँचवटा लुम सञ्चालनयोग्य बनाउने काम भइरहेको सेनाले जनाएको छ। एक महिनाभित्रै २० वटा लुम सञ्चालनमा ल्याउने तयारी छ।
सेनाका क्याप्टेन होमबहादुर थापाका अनुसार हालसम्म निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका कार्यालय पोसाकका साथै अस्पतालका बेडसिट, सारी, ब्लाउज र अल्लोका कोटका लागि आवश्यक कपडा उत्पादन गरिएको छ।
उनका अनुसार उत्पादित कपडा व्यावसायिक प्रयोजनका लागि नभई परीक्षणका लागि मात्र हो। बाहिरबाट धागो ल्याएर पुराना मेसिनबाट उत्पादनको गुणस्तर, क्षमता र सम्भाव्यता परीक्षण भइरहेको छ।
उद्योगमा कुल ४८८ वटा मेसिन रहेका छन्। तीमध्ये सञ्चालनयोग्य मेसिनको पहिचान गरी मर्मत र प्राविधिक परिमार्जन भइरहेको छ। आवश्यक पार्टपुर्जा बजारमा उपलब्ध भए पुरानै प्रविधिका मेसिनलाई पनि मर्मत गरेर दीर्घकालीन रूपमा सञ्चालन गर्न सकिने सेनाको भनाइ छ।
तर, मेसिन निर्माण गर्ने चिनियाँ कम्पनी नै बन्द भइसकेकाले आवश्यक स्पेयर पार्टस् जुटाउन चुनौती देखिएको छ।
परीक्षण उत्पादनपछि कपडाको गुणस्तर, उत्पादन लागत, क्षमता र बजारको मागका आधारमा उद्योगको व्यावसायिक सञ्चालन योजना तय गरिने जनाइएको छ। सरकारले पुरानै प्रविधिलाई निरन्तरता दिने वा आधुनिक प्रविधिमा रूपान्तरण गर्ने भन्ने विषय पनि परीक्षणको नतिजापछि टुंगो लगाउनेछ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.