हेटौंडा । ‘प्रेम अन्धो हुन्छ’ भन्ने उक्ति १९ वर्षीया कुमारी (नाम परिवर्तन)को जीवनमा यथार्थ बन्यो। दुर्गम गाउँकी उनी आफैंले विश्वास र माया गरेकै युवकबाट भारतको कोठीमा बेचिन पुगिन्।
गरिबी र पारिवारिक असहज परिस्थितिमा हुर्किएकी कुमारी सात दिदीबहिनीमध्ये एक थिइन्। बाबु मादक पदार्थमा लिप्त र परिवारको वास्ता नगर्ने, आमाले खेतीपाती र ईँटाभट्टामा काम गरेर घर चलाउने अवस्था थियो। पाँच कक्षा पछि पढाइ छाडेकी उनी १५ वर्षको उमेरमा एक युवकसँग विवाह गरेर गइन्। तर, वैदेशिक रोजगारमा गएका श्रीमानबाट पनि शारीरिक र मानसिक यातना सहनुपर्यो।
२०७४ सालतिर सामाजिक सञ्जालमार्फत अर्को युवकसँग परिचय भयो। करिब तीन वर्षको सम्पर्कपछि “भारतमा राम्रो काम र धेरै आम्दानी हुन्छ” भन्ने प्रलोभनमा परेर उनी काठमाडौंबाट काकडभिट्टा हुँदै दिल्ली पुगिन्। दिल्लीमा केही समय होटलमा राखिएपछि सिल्चरस्थित कोठीमा पुर्याइन्।
कोठीमा उनले दैनिक ७–८ जना ग्राहकलाई सेवा दिन बाध्य भइन्, तर सबै पैसा सञ्चालिकाले लिन्थिन्। भाग्ने प्रयास विफल रह्यो। उमेर कम भएकी कारण सुरुमा केही महिना काम नलगाइ राखे पनि पछि दबाबमा ल्याएर काम गर्न लगाइयो।
२०७७ सालमा हराएको उजुरीपछि परिवार र माइती नेपालले खोजी थालेका थिए। कोठीमा रहेकी उनका एक साथी भागेर नेपाल फर्किएपछि प्रहरी र सामाजिक संस्थाको सहयोगमा उनको अवस्थाबारे जानकारी भयो।
तीन वर्षभन्दा बढी समयपछि भारतीय प्रहरी र नेपाली संस्थाको संयुक्त प्रयासमा उनको उद्धार गरियो। हाल उनलाई नेपालमा स्वास्थ्य उपचार, मनोवैज्ञानिक परामर्श र कानुनी सहयोग दिइँदैछ।
यस्तो थियो घटना
विदेश पुगेपछि पनि श्रीमानबाट उस्तै व्यवहार देखाउन थाले । पैसा नपठाउने, केटीहरु सँग सम्बन्ध राख्ने गर्थे । विदेशबाट फर्केर आउँदा पनि वास्ता नगर्ने भएपछि उनी माइतीमै बस्न थालिन् । केही समयपश्चात् उनी फेरि ज्यालादारी गर्न काठमाडौं फर्किइन् ।
माइती घरमा बस्दा २०७४ सालमा सामाजिकसञ्जालमार्फत् दिनहुँ कुरा गर्दै आइरहेकी थिइन् । उनले काठमाडौंमा पनि पटकपटक भेटिरहेकी थिइन् । केटाको काठमाडौंमा कोठा थियो । तर, के काम गर्छ भन्ने कुरा उनलाई थाहा थिएन । करिब ३ वर्ष कुराकानी र भेटघाट भएपछि उनलाई भारतमा काम राम्रो पाइन्छ भनेर पटकपटक भनेपछि धेरै पैसा कमाइन्छ भने । धेरै पैसा कमाउने सोचेर उनी काठमाडौंबाट बस चढेर काकडभिट्टा पुगेको र काकडभिट्टाबाट सिलीगुढी र सिलीगुढीबाट पटना र पटनाबाट दिल्ली गइन् । दिल्लीमा उनलाई होटलमा राखियो उनका प्रेमी भने कहिलेकाहींमात्र होटल आउने गर्थें । उनलाई हिन्दी नआउने कारण बाहिर जान नदिने र आवश्यक सामान सबै नेपाली एक भाइले ल्याइदिने गर्थें ।
उनी काठमाडौंबाट हराएपछि २०७७ सालमा उनकी आमाले खोजतलास गर्न प्रहरी र माइती नेपालमा गइन् । हराएको ८ महिनापछि भारतकै नम्बरबाट ॅम भारतमा छु । मैले बिहे गरें’ भनिन् र ज्वाईं भन्दै आमासँग कुरा गराइन् । तर, उनलाई सबै त्यही केटाले सिकाएर भनेकी रहिछन् । करिब ३ महिना दिल्ली बसेपछि उनी प्लेनमार्फत् दिल्लीबाट सिल्चर गइन् । सिल्चर पुगेपछि नेपालकै एक महिलाले सञ्चालन गरेको कोठीमा उनलाई यहाँ बस्दै गर पछि आउँछु भनेर फर्किए । पछि फर्केर आएनन् ।
केही महिना उनलाई उमेर सानो भएको कारण काम नलगाइ राखे । घर जान्छु भन्दा नदिने र भागेर जाउँ भन्दा बाटो थाहा नभएको र भाषा पनि नआउने कारण केही महिनापछि उनी कोठीमा भनेबमोजिम काम गर्न बाध्य भइन् । आफूले माया र विश्वास गरेकी व्यक्तिले धोका दिएको सहन नसकेर उनले आफ्नै मोबाइल फुटाइन् र घरमा सम्पर्क हुन सकेन । कहिलेकाँही ग्राहकले उनलाई पनि पैसा दिन्थे र उनले आफूलाई चाहिने सामान खरिद गर्थिन् । आवश्यक सामग्री कोठीभित्र नै बिक्री गर्न ल्याउँथे । कहिलेकाँही बजार जानुपरे उनी साहुनीसँग जान्थिन् । कोठीमा अन्य ८ केटी पनि थिए । कोठीमा बस्दा सधैं स्वास्थ्य जाँच गरिन्थ्यो र गम्भीर बिरामी हुँदा अस्पताल आफैं लैजाने गर्थे । कहिलेकाँही अनुगमनमा आउँदा केटीहरु लुकाएर राख्ने गर्थें ।
पटकपटक भाग्न खोज्दा पनि नसकेर बाध्य भएर कोठी सञ्चालिकाले जे भने पनि मानेर बसिरहेकी थिइन् । उनीसँग अरु दुई मिल्ने साथी बनेका थिए । उनीहरु मिलेर भाग्ने योजना बनाउँदा पनि सफल नभएका रहेछन् । ३ जना साथीमध्ये काठमाडौं घर भएकी एक साथी सधैं आउने ग्राहकसँग भागिन् । उनले आफू भागेपछि उनले माइती नेपाल र दिल्ली प्रहरीमा एक बहिनी नेपाल फर्कन चाहन्छिन भन्दिएपछि सबै संघसंस्था, जनप्रतिनिधि मिलेर भारत पुगेर उनको उद्घार गरियो । केही समय उपचारपश्चात् उनलाई आवश्यक मनोविमर्श, स्वास्थ्य उपचार र कानुनी उपचारका लागि राखिएको छ ।











