हेटौंडा। लागुऔषध प्रयोगकर्ता र एचआईभी संक्रमित व्यक्तिको उपचार, पुनस्र्थापना, स्वास्थ्यअधिकार र मानवअधिकार सुनिश्चित गर्ने उद्धेश्यले रिकभरिङ नेपालको आयोजना तथा समन्वयमा मकवानपुरमा न्यायप्रणालीका निकाय र स्वास्थ्य क्षेत्रबीच समन्वय बैठक भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै रिकभरिङ नेपाल केन्द्रीय सदस्य सौजन क्षेत्री डीसीले न्याय र स्वास्थ्यबीच सहकार्यबिना प्रभावकारी पुनस्र्थापना असम्भव रहेको उल्लेख गर्दै यसलाई सम्मान र मानवअधिकारस“ग जोडेर दृष्टिकोण लिनुपर्नेमा जोड दिए । बागमती प्रदेश फोकलपर्सन मनिषमान श्रेष्ठले स्वास्थ्य, न्याय र गैरसरकारी क्षेत्रबीचको बलियो सहकार्यबाट मात्र समाजमा पुनर्एकीकरण सम्भव हुने धारणा राख्दै सबै पक्षको सहकार्यको आवश्यकता औंल्याए ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जिल्ला प्रशासन पुनस्र्थापनाभिमुख कार्यक्रमहरुमा कानुनी ढा“चाभित्र रहेर सधैं साथ दिन तयार रहेको बताइन् । जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिले नसा प्रयोगकर्तालाई अपराधीकरण नगरी उपचार र पुनस्र्थापनामा अभिमुख गरिने प्रतिवद्धता जनाए । हेटौंडा अस्पताल र जनस्वास्थ्य कार्यालयका प्रतिनिधिहरुले परीक्षण, परामर्श तथा रिफरल प्रणालीलाई अझ प्रभावकारी बनाउने योजना प्रस्तुत गरे । नेपाल बार एसोसिएसन र अधिवक्ताहरुले न्यायमा पहुँच, कानुनी सहायता र भेदभाव न्यूनीकरणतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
सशस्त्र प्रहरी बलका एसपीले सुरक्षात्मक दृष्टिकोणबाट पनि पुनस्र्थापनालाई सहयोग पु¥याउने नीति अवलम्बन गरिने बताए । मानवअधिकार आयोग बागमती प्रदेशका प्रतिनिधिले मानवअधिकार सुनिश्चित गर्नु राज्यको अनिवार्य दायित्व भएको र कुनै प्रकारको भेदभाव अस्वीकार्य हुने स्पष्ट पारे । हेटौंडा उपमहानगरपालिकाका प्रतिनिधिले स्थानीय सरकारको नीति तथा योजनामा पुनस्र्थापना र स्वास्थ्य अधिकारलाई उच्च प्राथमिकता दिइने जानकारी गराए । बैठकमा सरोकारवालाबीच समन्वय, अनुगमन, कानुनी तथा स्वास्थ्य सेवा सुदृढीकरण र आगामी दिनमा समीक्षात्मक बैठक गर्ने सहमति भएको छ ।
बैठकमा जिल्ला प्रशासन कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, उच्च अदालत, जिल्ला अदालत, नेपाल बार एसोसिएसन, अधिवक्ता, हेटौंडा अस्पताल, जनस्वास्थ्य कार्यालय, सशस्त्र प्रहरी बल, राष्ट्रिय मानवअधिकार आयोग, हेटौंडा उपमहानगरपालिका, पुनस्र्थापना केन्द्र, सामुदायिक सेवाप्रदायक संस्थालगायत प्रतिनिधिको सहभागिता थियो ।










