मकवानपुर । मानव बेचबिखन, जबर्जस्ती श्रम, यौन हिंसा र दुर्व्यवहार विरुद्ध लामो समयदेखि सक्रिय रहँदै आएको माइती नेपालले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न गरेको महत्वपूर्ण कार्यहरूलाई सार्वजनिक गर्दै ‘सामाजिक लेखापरीक्षण कार्यक्रम’ आयोजना गरेको छ। हेटौंडा उपमहानगरपालिकामा सम्पन्न उक्त कार्यक्रममा सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, सरोकारवाला निकायहरू, महिला तथा बाल अधिकारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमको सभाध्यक्षता माइती नेपाल रोकथाम गृह हेटौंडाकी कार्यक्रम संयोजक माया तामाङले गरिन् भने हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामा प्रमुख अतिथिका रूपमा सहभागी भइन्। कार्यक्रममा माइती नेपालले वर्षभरि सम्पादन गरेका कार्यक्रम, उपलब्धि, चुनौती र सिकाइहरू प्रस्तुत गरियो।
समर्पित प्रयास: बेचबिखन विरुद्ध विद्यालयदेखि समुदायसम्मको पहुँच
कार्यक्रममा संयोजक माया तामाङले परियोजनाको उद्देश्य स्पष्ट पार्दै भनिन्, “विद्यालय तहमा नै सचेतना कार्यक्रम मार्फत बालमैत्री वातावरण सिर्जना गर्ने, र जोखिममा रहेका किशोरी तथा महिलालाई उद्धार, सीप विकास र पुनः एकीकरणमा जोड दिने हाम्रो मुख्य लक्ष्य हो।”
२०८१/०८२ को अवधिमा माइती नेपालले मकवानपुर जिल्लाका विद्यालयहरूमा मानव बेचबिखन, यौन हिंसा, जबर्जस्ती श्रम र दुर्व्यवहार विरुद्ध सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्यो। यस क्रममा १९,५५१ जना विद्यार्थी र समुदायका सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित भए।
उद्धार, आवास र पुनः एकीकरण: पीडितको जीवन पुनर्निर्माणमा ध्यान
वर्षभरिमा ३३ जना उद्धार गरिएका महिला तथा किशोरीहरूलाई सुरक्षित आवासमा राखी पारिवारिक पुनर्मिलन गराइएको छ भने १ जना बालिका हाल पनि माइती नेपालकै संरक्षणमा रहेकी छिन्। साथै, वैदेशिक रोजगारीमा गएका बेला कुवेत र ओमानमा अलपत्र परेका २ जना महिलालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराइएको छ।
समान्तर रूपमा घरेलु तथा लैंगिक हिंसाको मुद्दामा माइती नेपालले सशक्तधकारको रूपमा भूमिका खेलेको छ। ५१ वटा उजुरी परेका मध्ये १७ वटामा मिलापत्र, बाँकीलाई सम्बन्धित निकायमा सिफारिस गरिएको छ। जबरजस्ती करणी तथा यौन दुर्व्यवहारका ३२ वटा मुद्दा प्रहरी कार्यालयको समन्वयमा दर्ता गरिएको छ।
सीप विकास र आत्मनिर्भरता: शशक्त महिला, सुरक्षित समाज
माइती नेपालले उद्धार गरिएका महिलाहरूलाई आत्मनिर्भर बनाउन सिलाइ-कटाइ, जीवन उपयोगी सीप र वित्तीय साक्षरता सम्बन्धी तालिमहरू प्रदान गरेको छ। बेसिक तालिम प्राप्त १० जना महिलाले आफैंले मेशिन खरिद गरी सिलाइ व्यवसाय सुरु गरेका छन्। एड्भान्स तालिम प्राप्त ३ जनालाई रु. ७४,००० बराबरको सामग्री OCMC मार्फत प्रदान गरिएको छ।
यसै गरी, कार्यक्रम अन्तर्गत सञ्चालित होटेल तथा डान्सबार अनुगमन, होटेल व्यवसायी र यातायातकर्मीहरूसँग चेतनामूलक गोष्ठी, नगरस्तरीय परामर्श समिति बैठक, हस्ताक्षर अभियान र रेडियो जिङलहरू मार्फत समाजमा बेचबिखन विरुद्ध व्यापक सचेतना फैलाइएको छ।
स्थानीय सहकार्य र आगामी प्रतिबद्धता
कार्यक्रममा सहभागी दार्ती संस्थाले आगामी वर्षमा रु. ७१ लाख ५९ हजार १ सय बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यस प्रतिबद्धताले कार्यक्रमलाई निरन्तरता र प्रभावकारिता दिने विश्वास लिइएको छ।
साथै, हेटौंडा उपमहानगरपालिका, वडा नं. १३ की एक महिलालाई विवाहपछि भारत लगेर घरेलु हिंसामा पारिएको सूचना पाएपछि माइती नेपालले तत्काल उद्धार गरी संरक्षणमा लिएको थियो। यस्तो उद्धारणीय कार्यले माइती नेपालको संवेदनशीलता र तत्काल कदम चाल्ने क्षमतालाई देखाउँछ।
चुनौतीहरू: खुला सिमाना, कानुनी कमजोरी र जनचेतनाको अभाव
कार्यक्रम संयोजक तामाङका अनुसार, “नेपाल–भारत खुला सिमानाका कारण निगरानी गर्न कठिन छ। ग्रामीण क्षेत्रमा अझै पनि मानव बेचबिखनका जोखिम उच्च छन्। त्यसमाथि कानुनी प्रावधानबारे जानकारीको कमी, वैदेशिक रोजगारीको नाममा हुने ठगी र पीडितको डर-त्रासले गर्दा धेरै मुद्दा दर्ता नै हुँदैनन्।”
पीडितले मुद्दा दर्ता गर्न नचाहनु, पिडकको धम्की र राज्य संयन्त्रको प्रभावकारी कार्यान्वयन नहुनु माइती नेपालको प्रयासमा चुनौती बनेको छ।
सिकाइ र आगामी रणनीति: पुनःस्थापना, सहयोग र शशक्तीकरण
वर्षको कामकाजबाट माइती नेपालले केही महत्वपूर्ण शिक्षाहरू प्राप्त गरेको छ:
* मानव बेचबिखन विरुद्धको कार्यक्रम समुदायस्तरमै व्यापक रूपमा लैजान आवश्यक।
* उद्धारपछि पुनःस्थापना र पुनः एकीकरणमा विशेष ध्यान दिनुपर्ने।
* अभिभावकलाई सचेत गराउनु, स्थानीय सरकार, आमा समूह, विद्यालय र युवासँग सहकार्य गर्दा कार्यक्रम अझ प्रभावकारी हुने।
* सीप विकास र स्वरोजगारले महिलालाई आत्मनिर्भर बनाउने।
* उद्धार गरिएका महिलालाई मनोवैज्ञानिक र कानूनी सहयोग आवश्यक छ।
समापन: साझा प्रतिबद्धताले मात्र सम्भव छ बेचबिखनमुक्त समाज
कार्यक्रमको समापन गर्दै नगर प्रमुख मिनाकुमारी लामाले भनिन्, “मानव बेचबिखनजस्तो जटिल सामाजिक अपराधसँग लड्न सबै तहका निकाय, समुदाय र जनताको साझा प्रयास आवश्यक छ। माइती नेपालको प्रयास प्रेरणादायी छ, हामी स्थानीय तहबाट पूर्ण सहकार्य गर्ने प्रतिवद्धता जनाउँछौं।”
समाजका सबै तहमा जनचेतना, कानूनी सजगता, उद्धार र पुनःस्थापनामा सशक्त काम गर्दै आएको माइती नेपालले आगामी वर्षमा अझ प्रभावकारी रूपमा बेचबिखन विरुद्धको लडाइँलाई अघि बढाउने स्पष्ट संकेत दिएको छ।













