जेनजी आन्दोलनको क्रममा भागेका २०७ जना कैदी नियन्त्रणमा

मकवानपुर । हाल देशव्यापी रूपमै चर्किएको जेनजी  आन्दोलनको क्रममा विभिन्न कारागारहरूबाट भागेका कैदीबन्दीहरूमध्ये हालसम्म २०७ जनालाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन्।
आन्दोलनको अवसर पारेर देशका थुप्रै कारागारहरूमा ठूलो संख्यामा कैदीबन्दीहरू भागेका थिए। उनीहरूलाई नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालित गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार मकवानपुरको भिमफेदीस्थित कारागार कार्यालयबाट जम्मा १०६६ जना कैदीमध्ये ४४० जना भागेका थिए। तीमध्ये ११७ जना पक्राउ परिसकेका छन् भने ३२३ जना अझै फरार छन्। हेटौंडा -११ स्थित  बाल सुधार गृहबाट समेत ९४ जना मध्ये ७२ जना भागेका थिए, जसमा ४५ जनालाई नियन्त्रणमा लिइएको छ र २७ जना अझै फेला परेका छैनन्।

त्यसैगरी, डिल्लिबजारस्थित नख्खु कारागारबाट भागेकामध्ये १२ जना, जगन्नाथदेवलस्थित केन्द्रीय कारागारबाट २० जना, तनहुँको दमौली कारागारबाट २ जना, चितवन जिल्ला कारागारबाट ४ जना, कास्की कारागारबाट २ जना, सिन्धुली कारागारबाट १ जना र सि.पा. कारागारबाट १ जना कैदी पक्राउ परेका छन्। यस्तै, ३ जना कैदीलाई नियन्त्रणमा लिइए पनि उनीहरू कुन कारागारबाट भागेका हुन् भन्ने विवरण खुल्न बाँकी रहेको सुरक्षा निकायले जनाएको छ।

भदौ २७ गते शुक्रबारसम्म देशभरबाट नियन्त्रणमा लिइएका भागेका कैदीबन्दीहरूको संख्या २०७ पुगेको छ। फरार कैदीहरूको खोजी कार्य तीव्र पारिएको छ भने सुरक्षा निकायहरूले जनतालाई सतर्क रहन र कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.