मकवानपुर। जिल्ला प्रहरी कार्यालय मकवानपुरले तास खेलिरहेको अवस्थामा ११ जनालाई नगद रु. ६,०६,३१० (छ लाख छ हजार तीन सय दस रुपैयाँ) र ११ बुक ताससहित नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार शुक्रबार साँझ ५:२० बजेको समयमा हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित गुम्बा नजिकै रहेको दर्ता नभएको खाजा घरमा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो। सोही स्थानबाट प्रहरीले नगद र ताससहित ११ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएको हो।
पक्राउ पर्नेहरूमा खाजा घरका सञ्चालक ३५ वर्षीय हिरालाल मोक्तान, उनकी श्रीमती वसन्ती ब्लोन ३५, अर्जुन तामाङ ३७, टुम बहादुर वाइबा ३८, राम माया राना ५०, हिरा माया थिङ ५०,शान्ति माया तामाङ ३०,कान्छी माया ब्लोन ६६, सीता लामा ४५, राजेश दर्नाल २७ र अनिल थापा ३० रहेका छन्।
उक्त खाजा घर जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट करिब ५०० मिटर पूर्वतर्फ पर्छ ।










