हेटौँडामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–९ माष्टरचोक नजिकै एक यात्रुबाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले अन्दाजी ३०–३२ वर्षका पुरुष पैदल यात्रीलाई ठक्कर दिएको थियो। उक्त दुर्घटना शनिबार  राति करिब ११ः०० बजे पूर्व–पश्चिम राजमार्गको माष्टरचोक नजिक भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका व्यक्तिलाई प्रहरी निरीक्षक किशोर आचार्यको कमाण्डमा खटिएको टोलीले उद्धार गरी तत्काल उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएकोमा, राति ११ः३० बजे अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

बस चालक महोत्तरी रामगोपालपुर नगरपालिका–६ का ३३ वर्षीय सुजय कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस र चालक दुबैलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट करिब १ किलोमिटर दक्षिणतर्फ पर्दछ।

प्रहरीका अनुसार मृतकको पहिचान सुरुमा खुल्न नसके पनि घटनास्थलमा भेटिएको मोबाइलको सिम कार्ड प्रयोग गरी सम्पर्क गर्दा मृतक रुपन्देही देवदह नगरपालिका–८ निवासी ३७ वर्षीय राम बहादुर बोहरा भएको खुलेको छ।

दुर्घटनापछि बसका यात्रुहरूलाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.