हेटौंडा । मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्गलबार दर्ता भएका उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको छ। बुधबार दिउँसो ३ बजेसम्म उजुरी दर्ता गर्ने समयसीमा तोकिए पनि सो अवधिभित्र एक पनि उजुरी नआएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रमअनुसार मिति २०८२।१०।६ गते उम्मेदवारी दर्ता गरेका उम्मेदवारविरुद्ध २०८२।१०।७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने व्यवस्था थियो। तर तोकिएको समयभित्र कुनै पनि उम्मेदवारमाथि उजुरी नपरेको उहाँले जानकारी दिए।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुईवटा निर्वाचन क्षेत्रबाट जम्मा ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन क्षेत्र नम्बर–१ बाट २३ जना र निर्वाचन क्षेत्र नम्बर–२ बाट २१ जनाले उम्मेदवारी दिएका हुन्।
निर्वाचन क्षेत्र नम्बर–१ मा विभिन्न राजनीतिक दलबाट १३ जना र १० जना स्वतन्त्र उम्मेदवार रहेका छन्। त्यसैगरी निर्वाचन क्षेत्र नम्बर–२ मा विभिन्न दलबाट १६ जना र ५ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारविरुद्ध उजुरी नपरेसँगै सबै उम्मेदवारको उम्मेदवारी प्रक्रिया सहज रूपमा अगाडि बढ्ने देखिएको छ।











