हेटौँडा । लागुऔषध दुर्व्यसन समाजको गम्भीर चुनौतीका रूपमा बढ्दै गएको सन्दर्भमा मकवानपुर जिल्लामा लागुऔषध नियन्त्रण, उपचार, पुनर्स्थापना तथा सामाजिक पुनःएकीकरणलाई एकीकृत रूपमा अघि बढाउने उद्देश्यसहित ३ महिने जिल्ला स्तरीय लागुऔषध विरुद्ध अभियान सुरु गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजना तथा सिआन पुनर्स्थापना केन्द्रको व्यवस्थापनमा सञ्चालन हुने यस अभियानलाई जिल्लाको इतिहासमै रोकथाम, उपचार, पुनर्स्थापना र सामाजिक पुनःएकीकरणलाई एउटै साझा ढाँचामा जोडिएको उदाहरणीय पहलका रूपमा लिइएको छ।
अभियानको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले लागुऔषध दुर्व्यसन केवल स्वास्थ्य समस्यामा सीमित नरही सामाजिक, आर्थिक तथा सुरक्षा चुनौतीसमेत बनेको उल्लेख गरे। उनले यसविरुद्ध राज्य, परिवार, विद्यालय, समुदाय र नागरिक समाज सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।
“लागुऔषध विरुद्धको लडाइँ कुनै एक संस्थाको मात्र जिम्मेवारी होइन। मकवानपुरमा सुरु गरिएको यो ३ महिने अभियान व्यवहार परिवर्तन र दीर्घकालीन समाधानतर्फको ठोस कदम हो,” प्रमुख जिल्ला अधिकारी अधिकारीले भने। उनले जिल्ला प्रशासन कार्यालयले नीति, समन्वय र नेतृत्वमार्फत स्थानीय तह, सुरक्षा निकाय, शिक्षा संस्था र स्वास्थ्य क्षेत्रबीच सहकार्य सुदृढ गर्दै अभियानलाई परिणाममुखी बनाइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लागुऔषध दुर्व्यसनलाई सार्वजनिक स्वास्थ्य संकटका रूपमा लिँदै उपचार, अनुसन्धान र समुदाय–आधारित हस्तक्षेपलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।
“लागुऔषध दुर्व्यसनको असर व्यक्तिमा मात्र सीमित हुँदैन, यसले परिवार र समग्र समाजलाई प्रभावित गर्छ। उपचार र पुनर्स्थापनामा पहुँच विस्तार गर्दै वैज्ञानिक, मानव–केन्द्रित र सम्मानजनक सेवा प्रवाह आवश्यक छ,” उनले भने। प्रतिष्ठानको तर्फबाट आवश्यक प्राविधिक तथा शैक्षिक सहकार्य रहनेसमेत उनले जानकारी दिए।
त्यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीले अभियानले स्थानीय तहसम्म बलियो समन्वय संरचना निर्माण गर्ने विश्वास व्यक्त गर्दै पालिकाहरूलाई सक्रिय साझेदारका रूपमा अघि बढाइने स्पष्ट पारे।
“यो अभियान सचेतनामै सीमित हुँदैन। पालिका–स्तरीय समन्वय, जोखिम समूह पहिचान, सेवा सन्दर्भ प्रणाली र समुदायको सक्रिय सहभागितामार्फत वास्तविक परिवर्तन ल्याउने प्रयास गरिएको छ,” उनले भने।
अभियानअन्तर्गत विद्यालय तथा क्याम्पसमा सचेतना कार्यक्रम, युवा तथा विद्यार्थी केन्द्रित संवाद, समुदाय आधारित अन्तरक्रिया, सूचनामूलक पम्प्लेट वितरण, सार्वजनिक स्थानमा होर्डिङ बोर्ड स्थापना, पालिका स्तरीय समन्वय बैठक, सडक नाटक तथा रचनात्मक कार्यक्रम, महिला लक्षित सचेतना, अभिभावक परामर्श सत्र, घरदैलो अभियान, हेल्प डेस्क सञ्चालन तथा उपचार र पुनर्स्थापनाका लागि सेवा सन्दर्भ कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
अभियानको व्यवस्थापन जिम्मेवारी लिएको सिआन पुनर्स्थापना केन्द्रले पुरुष तथा महिलाका लागि छुट्टाछुट्टै पुनर्स्थापना सेवा सञ्चालन गर्दै आएको उल्लेख गर्दै आफ्नो दीर्घ अनुभव, समुदायसँगको विश्वास र मानव–केन्द्रित दृष्टिकोण प्रयोग गरी अभियानलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
कार्यक्रमको अन्त्यमा आयोजकहरूले “लागुऔषध विरुद्धको लडाइँ सामूहिक जिम्मेवारी हो” भन्ने सन्देशसहित मकवानपुर जिल्लाका सम्पूर्ण नागरिक, स्थानीय सरकार, शिक्षा संस्था, सञ्चारकर्मी तथा नागरिक समाजलाई अभियानमा सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।
यस अभियानले लागुऔषध दुर्व्यसन विरुद्ध चेतनामा मात्र सीमित नरही व्यवहार परिवर्तन, कलङ्क न्यूनीकरण र दीर्घकालीन समाधानतर्फ समाजलाई अघि बढाउने अपेक्षा गरिएको छ।









