हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक पिकअप गाडी नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार साँझ करिब ७:३० बजे भिमफेदी गाउँपालिका–२ भैसेस्थित चेकपोइन्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा आँपचौरबाट भैसेतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ४२७० नम्बरको योद्धा पिकअप गाडीलाई रोक्न खोज्दा चालकले गाडी नरोकी हेटौंडा बजारतर्फ भागेको थियो।
प्रहरीले पिछा गर्दै जाने क्रममा लोकप्रिय मोड नजिक चालकले गाडी रोकी फरार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। गाडीलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा पिकअपको पछाडिको ढालाभित्र लुकाइछिपाई ल्याइएको लागूऔषध गाँजा १७२ किलो ६०० ग्राम फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा र पिकअप गाडी प्रहरी नियन्त्रणमा लिइएको छ भने फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।









