मकवानपुर । लागुऔषध विरुद्धको ३ महिने अभियान अन्तर्गत बागमती गाउँपालिकामा विभिन्न जनचेतनामूलक तथा संस्थागत कार्यक्रमहरू प्रभावकारी रूपमा सम्पन्न भएका छन्।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा तथा सिआन पुनर्स्थापना केन्द्रको व्यवस्थापनमा सञ्चालन भइरहेको अभियान अन्तर्गत आइतबार पालिका स्तरीय समन्वय बैठक, विद्यालय सचेतना कार्यक्रम तथा सार्वजनिक सन्देशमूलक गतिविधिहरू सम्पन्न गरिएका हुन्।
गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृतको आतिथ्यतामा सम्पन्न पालिका स्तरीय समन्वय बैठकमा वडा अध्यक्षहरू, कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरूको सहभागिता रहेको थियो। बैठकमा अध्यक्ष घलानले आवश्यक बजेट विनियोजन, नीतिगत व्यवस्था, कार्यक्रम निर्माण र समन्वयात्मक भूमिकामार्फत अभियानलाई थप सशक्त बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता जनाए।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृतले स्थानीय सरकारलाई लागुऔषध नियन्त्रण मार्गदर्शन–२०७६ अनुसार समिति तत्काल गठन गर्ने प्रतिबद्धता व्यक्त गरे।
अभियानकै क्रममा बागमती गाउँपालिका वडा नं. ५ स्थित देवकी माध्यमिक विद्यालयमा विद्यालय सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। वडा अध्यक्ष विजय घलानको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थापा मगरको आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षकहरू, रिकभरिङ महासंघका प्रतिनिधि तथा सिआन पुनर्स्थापना केन्द्रका प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रममा कक्षा ७, ८ र ९ का करिब ९० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूलाई लागुऔषध दुव्र्यसनका असर, रोकथामका उपाय तथा जीवन सीपसम्बन्धी सचेतना प्रदान गरिएको थियो।
अभियानलाई थप प्रभावकारी बनाउन गाउँपालिका परिसर अगाडिको मुख्य चोकमा सन्देशमूलक होर्डिङ बोर्ड स्थापना गरिएको छ। साथै विद्यालय बाहिर धूम्रपान निषेधित क्षेत्रसम्बन्धी बोर्ड राखिनुका साथै पालिकाका मुख्य बजार क्षेत्रहरूमा सन्देशमूलक पर्चा वितरण कार्यक्रम पनि सञ्चालन गरिएको छ।
समुदाय, विद्यालय तथा स्थानीय सरकारबीचको सहकार्यमा सञ्चालन भइरहेको यस अभियानले बागमती गाउँपालिकामा लागुऔषध विरुद्ध सशक्त जनआन्दोलनको आधार निर्माण गर्ने विश्वास लिइएको सिआन पुनर्स्थापना केन्द्रले जानकारी दिएको छ।









