हेटौंडा । मकवानपुरमा “वन डढेलो व्यवस्थापन सप्ताह” अन्तर्गत आयोजित पत्रकार सम्मेलनमा यस वर्ष हालसम्म वन डढेलोका कारण ठूलो क्षति नभएको जानकारी दिइएको छ। डिभिजन वन कार्यालय मकवानपुरको आयोजनामा सम्पन्न कार्यक्रममा डढेलो नियन्त्रणका लागि गरिएका प्रयास तथा आगामी रणनीतिबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो।
डिभिजन वन कार्यालयका प्रमुख राकेश प्रसाद चन्द्रवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एक हप्तासम्म सञ्चालन गरिएको विशेष अभियानका उपलब्धिहरू सार्वजनिक गरिएका थिए। वन अधिकृतहरूले विगतका वर्षका चुनौतीलाई ध्यानमा राख्दै यस वर्ष सुरुदेखि नै सचेतना, पूर्वतयारी र निगरानीलाई प्राथमिकतामा राखिएको बताएका छन्।
कार्यालयका अनुसार “वन डढेलो व्यवस्थापन सप्ताह” अन्तर्गत जिल्लाका विभिन्न वन क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन, जोखिमयुक्त क्षेत्रहरूको पहिचान, निगरानी प्रणाली सुदृढीकरण तथा स्थानीय समुदायसँग समन्वय विस्तार गरिएको छ। सामुदायिक वन उपभोक्ता समूहहरूसँग सहकार्य गर्दै सम्भावित जोखिम क्षेत्रहरूमा सरसफाइ, सचेतना अभिवृद्धि तथा आगो नियन्त्रणका लागि आवश्यक उपकरण तयारी अवस्थामा राखिएको जनाइएको छ।
कार्यक्रममा वन अधिकृत हेमकुमार पाठकले विगतका प्रयासहरूको समीक्षा गर्दै आगामी रणनीतिबारे जानकारी गराएका थिए। उनका अनुसार वन डढेलोका प्रमुख कारणमा मानवीय लापरबाही, जथाभावी आगो बाल्ने प्रवृत्ति, अव्यवस्थित घाँस–दाउरा संकलन तथा मौसमीय प्रभाव रहेका छन्। यस्ता गतिविधि न्यूनीकरणका लागि समुदायस्तरमै सचेतना आवश्यक रहेको उनले जोड दिए।
वन डढेलो नियन्त्रणका लागि स्थानीय तह, सुरक्षा निकाय, सामुदायिक वन समूह र सर्वसाधारणबीच समन्वय अझै सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ। कार्यालयले यस वर्ष हालसम्म ठूलो क्षति नदेखिनुलाई प्रारम्भिक तयारी, जनचेतना र प्रभावकारी निगरानी प्रणालीको सकारात्मक परिणामका रूपमा लिएको छ।
तथ्यांकअनुसार २०८१ फागुनदेखि २०८२ जेठसम्म ५७४.२५ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भएको थियो। सो अवधिमा १०२ वटा रुख, १,१३७ खम्बा, १०,२९९ लाथ्रा तथा १,३५,०६२ बिरुवामा क्षति पुगेको छ। चालु आर्थिक वर्षमा भने चैत महिनामा मात्रै ५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको वन कार्यालयले जनाएको छ।
मकवानपुर जिल्ला देशका ७७ जिल्लामध्ये वन डढेलोको उच्च जोखिममा पर्ने १८औँ स्थानमा रहेको छ। बागमती र बकैया गाउँपालिका क्षेत्र उच्च जोखिममा रहेका छन्।
वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि २१ स्थानमा पानी पोखरी निर्माण भइरहेको छ भने २२५ हेक्टर क्षेत्रमा थिनिङ (पत्ल्याउने) कार्य सम्पन्न गरिएको छ। साथै ३७.१ किलोमिटर पुरानो अग्निरेखा सरसफाइ र ४ किलोमिटर नयाँ अग्निरेखा निर्माण गरिएको छ।
डिभिजन वन कार्यालयमार्फत १० र सामुदायिक वन उपभोक्ता समितिमार्फत ५ गरी १५ वटा पात फुक्ने मेसिन प्रयोगमा ल्याई सुकेका पात व्यवस्थापन गरिएको छ। यसैगरी २०८२ फागुनदेखि २०८३ जेठसम्म प्रत्येक सामुदायिक वनमा कम्तीमा २ जना वन हेरालु परिचालन गरिएको छ। वन तथा वातावरण मन्त्रालयले डढेलो नियन्त्रणमा खटिने जनशक्तिका लागि ५ लाख रुपैयाँको सामूहिक दुर्घटना बीमा व्यवस्था गरेको छ।
आगामी दिनमा तापक्रम वृद्धि र लामो समयसम्म सुख्खा मौसम रहने सम्भावनालाई मध्यनजर गर्दै डढेलोको जोखिम अझै उच्च रहने चेतावनी दिइएको छ। यसका लागि नियमित गस्ती, अग्निरेखा निर्माण, द्रुत उद्धार टोली परिचालन तथा आवश्यक उपकरण व्यवस्थापनलाई प्राथमिकतामा राखिने जनाइएको छ।
कार्यक्रममार्फत सर्वसाधारणलाई वन क्षेत्रमा जथाभावी आगो नबाल्न, डढेलो देखिएमा तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन र वन संरक्षणमा सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ। सहभागीहरूले वन संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न वन डढेलो नियन्त्रण सबैको साझा जिम्मेवारी भएकोमा जोड दिएका छन्।










