हेटौँडा । मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब ११ बजे स्थानीय इन्द्रबहादुर कठायतको इँटा र काठले बनेको, जस्ताको छानो भएको दुई कोठे कच्ची घरसँगै रहेको भान्साकोठामा अचानक आगलागी भएको हो।
आगलागीको खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। हेटौँडा उपमहानगरपालिकाको बारुणयन्त्र तथा स्थानीयको सहयोगमा बिहीबार बिहान करिब १ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट घर तथा भान्साकोठा पूर्ण रूपमा जलेर नष्ट भएको छ। साथै लत्ताकपडा, भाँडावर्तन, काठपात, नगद ७० हजार रुपैयाँ, करिब ४ तोला सुन, डुक मोटरसाइकल, फोटोग्राफीमा प्रयोग हुने क्यामरा र कम्प्युटरको पूर्ण सेट जलेर नष्ट भएको पीडितको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागीबाट करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। घटनामा मानवीय तथा चौपाया क्षति भने भएको छैन।
प्रारम्भिक अनुमानअनुसार विद्युत् करेन्ट सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ। आगलागीपछि पीडित परिवार छिमेकीको घरमा बसेको प्रहरीले जनाएको छ।








