पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेले पार्टी सदस्यता नवीकरण अस्वीकार गरेपछि शुक्रवार पत्रकार सम्मेलनमार्फत आफ्नो पक्ष स्पष्ट पार्दै राजनीतिमा फर्कने चाहना अझै बाँकी रहेको संकेत गरेकी छन्।
मदन भण्डारीको तस्वीरसहित ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ लेखिएको ब्यानरअगाडि उभिएर उनले एमालेको सदस्यता विधिपूर्वक नवीकरण गरिसकेको दाबी गर्दै त्यो विषय विवादमा पार्न नहुने बताइन्। तर नवीकरणको मिति भने खुलाइनन्। अध्यक्ष केपी ओलीसँग सौहार्दपूर्ण छलफल भए पनि त्यसको भोलिपल्ट पार्टीको निर्णयमार्फत सदस्यता अस्वीकृत भएकोमा दुःख व्यक्त गरिन्।
उनले दलमा आबद्ध हुने अधिकार नेपालको संविधानले प्रत्याभूत गरेको भन्दै आफ्नो सदस्यता नमान्ने निर्णयले संवैधानिक अधिकार सङ्कुचित भएको आरोप लगाइन्। राष्ट्रपतिको कार्यकाल सकिएपछि पुनः राजनीतिमा लाग्ने निर्णय गर्नु अस्वाभाविक नभएको तर्क राखिन्।भण्डारीले आफू कुनै पदको खोजीमा नभएको र राष्ट्रकै सर्वोच्च पद सम्हालेको व्यक्ति भएकाले अबको जीवन देश र जनताको सेवामा समर्पित गर्ने निर्णय लिएको बताइन्।पत्रकारहरूले ‘अब के गर्ने?’ भन्ने प्रश्नमा स्पष्ट जवाफ नदिए पनि उनले अझै पार्टीभित्र छलफलको अपेक्षा राखेकी छन्। “कतिपय पार्टीका आन्तरिक विषयहरू हुन्छन्,” भन्दै सदस्यता निर्णय अझै उल्टिन सक्ने संकेत गरेकी छन्।
एमाले केन्द्रीय कमिटीले भने राष्ट्राध्यक्षको हैसियतले कुनै दलको सक्रिय सदस्य बन्न नमिल्ने निष्कर्ष निकाल्दै भण्डारीको सदस्यता अस्वीकृत गरेको हो। तर भण्डारीको पछिल्लो भनाइले यो प्रकरण तत्काल टुंगो नलाग्ने देखिन्छ।









