बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पद नछाड्ने स्पष्ट अडान लिएका छन्।
मंगलबार नेपाली कांग्रेस संसदीय दलमा भएको मत विभाजनमा बहुमतले उनलाई अस्वीकृत गरेपछि उनले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै भने, “मुख्यमन्त्री हुन दलको नेता हुनु आवश्यक छैन। गठबन्धनको सरकारमा संविधानले त्यो माग्दैन।”उनको विपक्षमा २२ मत परेपछि लामाले आफूविरुद्ध पार्टीभित्रै षड्यन्त्र भएको आरोपसमेत लगाए। “सबैलाई मिलाएर लैजाउँ भन्ने चाहना थियो, तर जाल बुनेर मलाई फसाउने काम भयो,” उनले भने। आफ्नै मन्त्रीहरू पनि यो चलखेलमा संलग्न भएको उनको भनाइ थियो।
लामाले गठबन्धन सरकारमा प्रधानमन्त्री (मुख्यमन्त्री) बन्न दलको नेता हुनु नपर्ने भन्दै राजीनामा दिनुपर्ने संवैधानिक बाध्यता नरहेको जिकिर गरे। “कोलिशन सरकारमा बहुमत कायम भए पुग्छ,” उनले दोहोर्याए।










