हेटौंडा उपमहानगरपालिकाको सेवा अस्थायी रूपमा सुरु

हेटौंडा। जेन-जी आन्दोलनको क्रममा हेटौंडामा भएको हिंसात्मक प्रदर्शनले हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ। आन्दोलनको क्रममा भदौ २४ गते दिउँसो २ बजे प्रदर्शनकारीहरूले नगरपालिकाको मूल गेट तोडेपछि कार्यालयभित्र पसेर आगजनी गरेका थिए।

यस घटनामा मुख्य प्रशासनिक भवन, सभाहल, र विभिन्न शाखाका कोठाहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन्। साथै, कार्यालयका महत्त्वपूर्ण कागजात, फाइल, कम्प्युटर, सफ्टवेयर र सेवा उपकरणहरू पनि खरानी भएका छन्।

नगरपालिकाका उपमेयर राजेश बानियाँका अनुसार, ११ वटा गाडी, २७ वटा मोटरसाइकल र एक अटो समेत जलेर नष्ट भएका छन्। भवनको तल्लो तल्लामा रहेका संरचनाहरू जलेर नष्ट भएको हुँदा प्रयोगयोग्य छन् या छैनन् भन्ने प्राविधिक परीक्षण भइरहेको छ।

उपमेयर बानियाँले भने, “यो एकदमै गम्भीर र अप्रत्याशित क्षति हो। अहिले प्लास्टिकको कुर्सी र सामान्य टेबल राखेर अस्थायी रूपमा अत्यावश्यक सेवा सुरु गरेका छौं।”

उनका अनुसार हाल अस्थायी रूपमा सेवा सुचारु गरिएको छ र नगरबासीलाई समस्या नपरोस् भन्ने सोचले काम अघि बढाइएको छ। जस्तै, एक नागरिकका बुवाको क्यान्सर अस्पतालको भुक्तानी प्रक्रिया पूरा गरिएको छ।

आगजनीबाट राजस्व, स्वास्थ्य, नक्सा, जिन्सी र अन्य महाशाखाका सम्पूर्ण कागजात र सामग्री जलेका छन्। फर्निचर, कम्प्युटर, इन्टरनेट र सफ्टवेयरजस्ता पूर्वाधार पुनःस्थापना गर्नुपर्ने भएकाले सम्पूर्ण सेवा सुचारु हुन केही समय लाग्नेछ।

१९ वटा वडामध्ये ११, १९, ३, ४, १० र १५ नम्बर वडामा आगजनी भएको छ। तर, सबै वडामा बिस्तारै सेवा सञ्चालन गर्ने तयारी भइरहेको उपमेयर बानियाँले जानकारी दिए।

जेन-जी आन्दोलनका कारण सरकारी सेवा प्रणालीमा ठूलो असर परेको छ। अहिले सेवा पुनःस्थापनाका लागि सबै निकायबीच समन्वय र सहयोग अत्यावश्यक देखिन्छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.