लैंगिक हिंसा अन्त्यका लागि बागमती प्रदेशमा १२ बुँदे मागपत्र प्रस्तुत

हेटौंडा । लैंगिक हिंसाको अन्त्य तथा पीडितलाई न्याय सुनिश्चित गर्न माग गर्दै बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईलाई १२ बुँदे बागमती प्रदेश मागपत्र २०८२ बुझाइएको छ ।

हेटौंडामा बिहिबार सम्पन्न लैंगिक हिंसा प्रतिकार्य संयन्त्र सुदृढीकरणका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय, सहकार्य र भूमिकाबारे आयोजित प्रदेशस्तरीय सम्मेलनका क्रममा मागपत्र बुझाइएको हो । तेस्रो बागमती प्रदेश स्तरीय महिला सम्मेलनबाट पारित उक्त मागपत्र यौन हिंसा विरुद्ध अभियान चितवनकी सावित्री पौडेलले उपसभामुख चापागाईलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख चापागाईले लैंगिक हिंसा अन्त्यका लागि राज्यका सबै तहले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा प्रभावकारी सुधार बिना लैंगिक हिंसा अन्त्य सम्भव नहुने उल्लेख गरे । साथै, हरेक तहमा रहेका जिम्मेवार व्यक्तिहरूले इमानदारीपूर्वक आफ्नो दायित्व पूरा गर्नुपर्नेमा उनको जोड थियो । शिक्षा, स्वास्थ्य र रोजगारीमा महिलाको सहज पहुँच सुनिश्चित गर्नु अत्यावश्यक रहेको उनले बताए ।

मागपत्रमा संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने हक, समानताको हक, रोजगारीको हक लगायतका अधिकारको प्रभावकारी कार्यान्वयनको माग गरिएको छ । हिंसा प्रभावित महिलालाई प्रमाण संकलनको जिम्मा थोपर्ने अभ्यासको अन्त्य गर्दै अनुसन्धान र न्यायिक प्रक्रियामा राज्य निकायलाई जिम्मेवार बनाउने नीति निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, स्थानीय तहमा न्यायिक डेस्क स्थापना गरी जोखिममा रहेका महिलाको अधिकार संरक्षण गर्नुपर्ने, न्यायमा पहुँच र सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने, समुदाय तहमा सहयोगी संयन्त्र तुरुन्त गठन गर्नुपर्ने तथा हिंसा प्रभावित महिलाको मनोबल अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने माग पनि समेटिएको छ । महिलालाई आर्थिक रूपमा सशक्त बनाउन व्यवसायिक सीप र क्षमताको विकासमा जोड दिनुपर्ने उल्लेख गरिएको छ ।

एक्सोनेट नेपालको आर्थिक सहयोगमा मकवानपुर महिला उत्थान समाज, चितवन सक्रिय महिला प्रतिष्ठान, महिला अधिकारका लागि राष्ट्रिय अभियान, मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्ध जिल्ला सञ्जाल मकवानपुर र यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनको संयुक्त सहकार्यमा सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्दै लैंगिक हिंसा प्रतिकार्य प्रणाली मजबुत बनाउने उपायबारे प्यानल छलफलसमेत गरिएको थियो । चितवन सक्रिय महिला प्रतिष्ठानकी उपाध्यक्ष दिक्षा रिमालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामा, राष्ट्रिय महिला आयोगकी उपसचिव रोशनी कार्की, बागमती प्रदेश प्रहरी प्रमुख अरुण पौडेल, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुवासचन्द्र बोहरा, महिला अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.