मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट महेश बर्तौलाले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गरेपछि उनले आगामी निर्वाचनमा आफ्नो पक्षमा जनसमर्थन बलियो रहेको दाबी गरे।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले २०७९ सालको निर्वाचनमार्फत जनताले पाँच वर्षका लागि दिएको जिम्मेवारी पूरा गर्न नपाएको गुनासो व्यक्त गरे। उनले ३२ महिना मात्र काम गर्न पाएको अवस्थामा असंवैधानिक ढंगले संसद विघटन भएको बताए।
जनताको सेवा गर्ने अवसर अधुरैमा रोकिए पनि अब नयाँ जनादेशका लागि घरदैलो अभियानमा जुट्ने उनले बताए। निर्वाचन विधि र प्रक्रिया अनुसार अघि बढेकाले यसलाई लोकतान्त्रिक अभ्यासको रूपमा लिएको उनको भनाइ थियो।
लोकतन्त्रलाई सुदृढ बनाउन स्वच्छ र मर्यादित प्रतिस्पर्धा आवश्यक रहेको उल्लेख गर्दै बर्तौलाले कानुन निर्माण गर्ने थलोमा पुग्न यसपटक पनि जनताले आफूलाई विश्वास गर्नेमा आशावादी रहेको बताए। विगतको भूमिकाका साथै एमालेको तर्फबाट प्रस्तुत एजेन्डाका आधारमा मतदाताले समर्थन गर्ने उनको तर्क छ।
उनले चुनावी प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरूलाई पनि शुभकामना व्यक्त गर्दै स्वस्थ प्रतिस्पर्धाबाट नै लोकतन्त्र बलियो हुने धारणा राखे।










