भयमुक्त, शान्तिपूर्ण र निष्पक्ष निर्वाचन नै लोकतन्त्रको स्थायीत्वको आधार

निर्वाचन लोकतन्त्रको महान पर्व हो ।  पर्व भन्नाले उत्सव बुझिन्छ अर्थात निर्बाचन एउटा महान उत्सब हो । जहाँ सबै नागरिक समान रूपमा सहभागी हुन, आफ्नो मत व्यक्त गर्न र भविष्यको दिशाबारे निर्णय गर्ने अबसर पाउने छन । त्यसैले निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई राष्ट्रको लोकतान्त्रिक चेतनाको उत्सव पनि हो । जब निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न हुन्छ, तब मात्र लोकतन्त्रको जग मजबुत बन्दछ र राज्यप्रति जनविश्वास सुदृढ हुन्छ ।
लोकतन्त्रमा राज्यसत्ताको स्रोत जनता हुने गर्दछन् । “जनताका लागि, जनताद्वारा, जनताको शासन” लोकतन्त्रको सुन्दर आदर्श हो । नेपाल एक संघीय लोकतान्त्रिक गणतन्त्र देश हो, जहाँ जनता नै सर्वोच्च शक्ति मानिन्छन् । त्यसैले निर्वाचनमा जनताको स्वतन्त्र सहभागिता सुनिश्चित गर्नु सरकार र राजनीतिक दलहरूको पहिलो कर्तव्य हो । बिना भय, बिना दबाब र बिना प्रलोभन प्रत्येक नागरिकले आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्छ । यदि मतदाता त्रसित हुन्छन् भने लोकतन्त्रको आत्मा नै कमजोर हुन्छ भन्ने हेक्का राखिनु पर्दछ ।
निर्वाचन आचारसंहिता लोकतान्त्रिक संस्कारको दर्पण हो । यसले राजनीतिक दल, उम्मेदवार र सरोकारवालालाई अनुशासन र मर्यादामा बाँध्ने गर्दछ । तर व्यवहारमा दलहरूको नैतिकताको प्रश्न उठिरहेको छ । धार्मिक आतंक, जातिय फुट, हुलदंगा, चन्दा आतंक, सन्त्रास, आर्थिक प्रलोभन र निर्बाचनमा बालबालिकाको प्रयोग जस्ता विकृतिले निर्वाचनको पवित्रतामा प्रश्न चिन्ह खडा भएको छ । यस्ता गतिविधिबाट एक पटकको निर्वाचन त जितिएला, तर त्यसले दिगो स्थायित्व दिन सक्दैन । जनताको विश्वास गुमेपछि शासन अस्थिर हुन्छ र लोकतन्त्रको आधार कमजोर बन्न पुग्दछ ।
प्रत्येक राजनीतिक दलले नेपालको संविधानमा उल्लेखित मौलिक हकहरूको सुनिश्चितता गर्ने स्पष्ट र बलियो आधारसहित जनतासामु प्रस्तुत हुनुपर्छ ।  शिक्षा, स्वास्थ्य, समानता, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक न्याय जस्ता अधिकारहरूको संरक्षण र प्रवद्र्धनमा दलहरूको प्रतिबद्धता व्यवहारमै देखिनु पर्दछ भन्ने आम मतदाताहरुको धारणा रहेको छ ।  निर्वाचन केवल सत्ता प्राप्तिको माध्यम मात्र नभई यो त राष्ट्र निर्माणको मार्गचित्र प्रस्तुत गर्ने अवसर पनि हो ।
आगामी निर्वाचन प्रत्येक दलका लागि नैतिकताको कसी हो । शान्तिपूर्ण निर्वाचन आजको अपरिहार्य आवश्यकता हो । विशेषगरी यो निर्वाचन भोलिका बालबालिका र नवयुवाहरूका लागि प्रेरणादायी सन्देश दिने खालको हुनु पर्दछ । यदि उनीहरूले हिंसा, अव्यवस्था र अनैतिकता देखे भने लोकतन्त्रप्रति निराशा बढ्न सक्दछ । तर यदि उनीहरूले मर्यादित प्रतिस्पर्धा, नीति र विचारको बहस, र जनताको सम्मान देखे भने उनीहरूमा लोकतान्त्रिक संस्कार बलियो बन्दछ । यस तर्फ गम्भिर भएर सचेत हुदै ब्यबहार गर्ने बेला आएको छ ।
निर्वाचनमा उत्सृङ्खलता र अशान्ति पैदा गर्ने विरुद्ध कडा कारबाही भएको अनुभूति जनताले गर्न चाहन्छन्। निर्वाचन आयोग र सरकारले निष्पक्षता कायम राख्न दृढता देखाउन सक्नु पर्दछ । कानुन सबैका लागि समान रूपमा लागू हुनु पर्दछ । कुनै पनि दल वा उम्मेदवार कानुनभन्दा माथि हुनुहुँदैन । सरकारलाई आम जनताले कसी लगाएर हेर्दै छन । निष्पक्ष अनुगमन र पारदर्शी व्यवस्थापनले मात्र निर्वाचनप्रति विश्वास बढाउँदछ । तसर्थ बर्तमान सरकारको सफलता निर्बाचनको निश्पक्षतामा  टिकेको छ भन्नुमा अत्युक्ति नहोला ।
निर्वाचन पर्यवेक्षणमा संलग्न विभिन्न संस्थाहरूको भूमिका पनि महत्वपूर्ण हुन्छ ।  उनीहरूले निष्पक्ष र वस्तुनिष्ठ रूपमा अनुगमन गर्नु पर्दछ । यदि पर्यवेक्षक नै पक्षपाती देखिए भने निर्वाचनको विश्वसनीयता घट्न जानेछ । त्यसैले पर्यवेक्षण गर्ने निकाय र व्यक्तिहरूले पनि उच्च नैतिकता र निष्पक्षताको उदाहरण प्रस्तुत गर्नु पर्दछ भन्ने धारणा आम सचेत नागरिकको रहेको छ । लोकतन्त्र विश्वासमा टिकेको प्रणाली हो, र विश्वास निष्पक्षताबाट मात्र प्राप्त हुनेछ ।
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्नु, लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई प्राथमिकता दिनु, किशोरी सशक्तिकरण,  बालविवाह र बालश्रममुक्त सहितको बालमैत्री समाज निर्माण गर्नु, निःशुल्क तथा अनिवार्य र गुणस्तरीय शिक्षाको सुनिश्चित गर्नु, सार्बजनिक शिक्षाको सुदृढिकरण गर्नु,  यौनिक तथा अल्पसंख्यक,अपांगताको अधिकार स्थापित र जातिय लगायत सबै प्रकारको बिभेदको अन्त्य यी सबै विषय दलहरूको घोषणापत्रमा स्पष्ट रूपमा समेटिनु पर्दछ । आम मतदाता दलहरुको घोषणा पत्र घोत्लेर अध्ययन गर्दैछन् । लोकतन्त्र केवल राजनीतिक अधिकारमा सीमित हुँदैन; यसले सामाजिक न्याय र समान अवसरको सुनिश्चितता पनि माग गर्दछ । जब समाजका सबै वर्गले समान अवसर पाउँछन्, तब मात्र लोकतन्त्र सार्थक हुन जानेछ ।
लोकतन्त्र र निर्वाचन एकअर्काका परिपूरक हुन् । शान्तिपुर्ण, निष्पक्ष र पारदर्शी निर्वाचन बिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन। यदि निर्वाचन स्वतन्त्र, निष्पक्ष, पारदर्शी र हिंसारहित हुन सकेन भने लोकतन्त्र कमजोर बन्न सक्दछ । त्यसैले लोकतन्त्रलाई सबल र सक्षम बनाउने जिम्मेवारी राजनीतिक दल र तिनमा आबद्ध कार्यकर्ताहरूको काँधमा छ । राजनीति सबै नीतिको मूल नीति हो । यदि राजनीति नै स्वच्छ र मर्यादित हुन सकेमा मात्र देशमा दिगो शान्ति र समृद्धि सम्भव हुन्छ ।
लोकतन्त्रको स्थायित्वका लागि निष्पक्ष र शान्तिपुर्ण निर्वाचन अनिवार्य शर्त हो । प्रत्येक नागरिकले आफ्नो मताधिकार प्रयोग गरी लोकतन्त्रलाई बलियो बनाउनु पर्दछ । त्यस्तै, राजनीतिक दलहरूले पनि इमान्दारीपूर्वक निर्वाचन आचारसंहिताको अक्षरशः पालना गर्दै भयमुक्त, शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्पन्न गराउनु आवश्यक छ । जब निर्वाचन निष्पक्ष हुन्छ, तब मात्र जनविश्वास बढ्छ; जब जनविश्वास बलियो हुन्छ, तब मात्र लोकतन्त्र स्थायी र सक्षम बन्दछ । यही बाटो नै समृद्ध र शान्त नेपाल निर्माणको आधार हो ।
अन्त्यमा, लोकतन्त्र र निर्वाचन एकअर्काका परिपूरक हुन् । निष्पक्ष र शान्तिपुर्ण निर्वाचन बिना साँचो लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन । लोकतन्त्रलाई बलियो बनाउन सरकारले शान्तिपुर्ण निर्बाचन गर्ने र प्रत्येक नागरिकले आफ्नो मताधिकारको सही प्रयोग गर्नु पर्दछ । यसरी मात्र देशमा सुशासन, विकास र समृद्धि सम्भव हुनेछ । (बिचारहरु लेखक स्वयंका हुन् ।)

– प्रकाश खतिवडा अध्यक्ष बालिका दुलही होईनन् राष्ट्रिय संजाल (जि.एन.बि नेपाल) तथा बाल कल्याण समाज मकबानपुर

-pkhatiwadanp@gmail.com

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.