बालबालिका तथा युवाको सुझावसहित “बाल विवाह मुक्त स्थानीय तह कार्यान्वयन तथा घोषणा निर्देशिका २०८३” निर्माण प्रक्रिया अगाडि बढ्दै

बालिका दुलही होइनन् नेपाल को आयोजना तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद् को सहकार्यमा “बाल विवाह मुक्त स्थानीय तह कार्यान्वयन तथा घोषणा निर्देशिका २०८३” निर्माण प्रक्रियाका सन्दर्भमा बालबालिका तथा युवासँग सुझाव संकलन गर्ने एकदिने कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम बालिका दुलही होइनन् नेपालको अध्यक्ष प्रकाश खतिवडा को अध्यक्षतामा सम्पन्न भएको थियो भने इन्द्रा देवी ढकाल प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत निर्मल राई, परिषद्का कार्यक्रम अधिकृत राम बहादुर चन्द तथा परियोजना अधिकृत आशिष आचार्य को आतिथ्यता रहेको थियो। यसैगरी कार्यक्रममा सबिना भण्डारी, ईलावती केशी, परामर्शदाता सर्मिला थापा, युवालय का आरोही अधिकारी र रञ्जना श्रेष्ठ, तथा राष्ट्रिय किशोरी सञ्जाल की अध्यक्ष अनुस्का न्यौपाने लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै परिषद्की कार्यकारी सचिव तथा प्रमुख अतिथि इन्द्रा देवी ढकालले बालबालिका र युवाबाट प्राप्त सुझावले “बाल विवाह मुक्त स्थानीय तह कार्यान्वयन तथा घोषणा निर्देशिका २०८३” अझ बालमैत्री र जनमैत्री बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले उक्त निर्देशिकालाई सकेसम्म छिटो कार्यान्वयनमा ल्याउन परिषद् सक्रिय रहेको जानकारी दिनुभयो।

कार्यक्रमका सभाध्यक्ष तथा बालिका दुलही होइनन् नेपालका अध्यक्ष प्रकाश खतिवडाले बाल विवाह अन्त्यका लागि तयार गरिँदै गरेको निर्देशिका बालमैत्री र युवामैत्री हुनु आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले बालबालिका तथा युवालाई जिम्मेवार र सक्रिय सहभागितामूलक भूमिकामा जोड्न सके मात्रै बाल विवाह अन्त्यसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना २०८३ प्रभावकारी रूपमा कार्यान्वयन हुन सक्ने विश्वास व्यक्त गर्नुभयो।

मन्त्रालयका शाखा अधिकृत निर्मल राईले हाल विभिन्न स्थानीय तहहरूले फरक–फरक ढंगले “बाल विवाह मुक्त पालिका” घोषणा गरिरहेको अवस्थामा नयाँ निर्देशिका पारित भएपछि सूचकमा आधारित एकरूपता कायम हुने बताउनुभयो। यसबाट मन्त्रालयलाई अनुगमन तथा मूल्यांकन गर्न समेत सहज हुने उहाँको भनाइ थियो।

कार्यक्रममा परिषद्का कार्यक्रम अधिकृत राम बहादुर चन्दले “बाल विवाह मुक्त स्थानीय तह कार्यान्वयन तथा घोषणा निर्देशिका २०८३” को मस्यौदा प्रस्तुत गर्दै बाल विवाहको परिभाषा, घोषणाका लागि सञ्चालन गरिने कार्यक्रम, स्थानीय तहको जिम्मेवारी, चरणबद्ध कार्यप्रक्रिया तथा सूचकहरूबारे सहभागी बालबालिका तथा युवाबाट सुझाव संकलन गर्नुभएको थियो।

सहजकर्ता सर्मिला थापाले समेत सहभागी बालबालिका तथा युवाहरूलाई समूहगत छलफल र अन्तरक्रियामार्फत सुझाव प्रस्तुत गर्न सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा उद्घोषण गर्दै बालिका दुलही होइनन् नेपालकी महासचिव सबिना भण्डारीले बालबालिकाले सहजरुपमा बुझ्ने भाषा शैलीमा निर्देशिका बनोस भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु हुदै अब बन्ने निर्देशिका युवामैत्री, लैगिंक मैत्री र बालमैत्री हुनमा आशाबादी भएको बताउनु भयो ।

त्यसैगरी सचिवालय प्रबन्धक ईलावती केशीले नेपालमा बाल विवाहको वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गर्दै नेपाल विश्वमै बाल विवाह हुने मुलुकमध्ये अग्रस्थानमा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार सन् २०२२ को तथ्यांकअनुसार नेपालमा १८ वर्षमुनिका ३३ प्रतिशत बालबालिकाको विवाह हुने गरेको छ। बालिकामात्र होइन, बालकहरूको समेत उल्लेख्य संख्यामा बाल विवाह हुने गरेको भन्दै उहाँले बाल विवाह अन्त्य अभियानमा स्वयं बालबालिका र युवाहरू नै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।

राष्ट्रिय किशोरी सञ्जालकी अध्यक्ष अनुस्का न्यौपानेले बाल विवाह अन्त्य अभियानमा युवालाई सहभागी गराउँदै यस्तो महत्वपूर्ण निर्देशिका निर्माण प्रक्रियामा आफ्ना धारणा राख्ने अवसर प्रदान गरेकोमा बालिका दुलही होइनन् नेपालप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले निर्देशिकामा बालबालिका तथा युवाको भावना समेटिएकोमा खुशी व्यक्त गर्दै यसले व्यवहारिक कार्यान्वयनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

यसै गरि दृष्टिबिहिन बालिका प्रतिक्षा आले र दृष्टिबिहिन बालक प्रज्वल उप्रेतीले बालबालिकको जीबनमा प्रत्यक्ष असर पार्ने बालबिबाह जस्तो संबेदनशिल बिषयमा आफु सहभागी भई बाल बिबाह मुक्त स्थानिय तह कार्यान्वयन तथा घोषणा निर्देशिका २०८३ निर्माण प्रकृयामा आफ्नो बिचार प्रकट गर्न पाउदा अत्यन्त खुसिहुदै सस्थाले लैगिंक तथा यौनिक अल्पसंख्यक समुदाय, अपागंता भएका, सबै समुदायका बालबालिका र युवालाई लैगिंक समानता र सामाजिक समाबेशीकरणको आधारमा समेटी कार्यक्रम गर्न सफत भएकोमा सस्थालाई धन्यबाद ज्ञापन समेत गर्नु भएको थियो ।

कार्यक्रममा युवा, बालबालिका, दृष्टिविहीन समुदाय, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका प्रतिनिधि तथा विभिन्न उमेर समूहका व्यक्तिहरू गरी कुल ५६ जनाको सक्रिय तथा सार्थक सहभागिता रहेको आयोजकले जनाएको छ।

बाल विवाह अन्त्यका लागि नीति निर्माण प्रक्रियामै बालबालिका तथा युवाको प्रत्यक्ष सहभागिता सुनिश्चित गरिएको यस कार्यक्रमलाई सहभागीहरूले महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। आयोजक संस्थाका अनुसार प्राप्त सुझावहरूलाई समेटेर “बाल विवाह मुक्त स्थानीय तह कार्यान्वयन तथा घोषणा निर्देशिका २०८३” लाई अझ व्यवहारिक, समावेशी तथा प्रभावकारी बनाइने बारे बताईएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.